काठमाडौं । नेपाली फिल्म निर्देशक मीनबहादुर भाम रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘मेसेज टु म्यान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४’ को जुरी प्रमुख चुनिनुभएको छ ।
रुसको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो फेस्टिभलको ३४ औं संस्करण आइतबारदेखि सुरु भएको छ ।
फेस्टिभलका अन्य जुरीमा लोकार्नो फिल्म फेस्टिमलका प्रोग्रामर, अर्जेन्टिना र टर्कीका दुई फिल्म निर्माता र रुसका एक कस्ट्युम डिजाइनर छन् ।
‘उहाँहरुले बर्लिनमा शाम्बाला हेर्नुभएको रहेछ । त्यसपछि अनौपचारिक रुपमा खबर गर्नुभएको थियो । मलाई जुरी प्रमुखको रुपमा छनोट गरेको दुई महिना भयो’ भामले सेन्ट पिटर्सबर्गबाट जानकारी दिनुभयो ।
आफू रुसको पुरानो र प्रतिष्ठित फेस्टिभलमा नियुक्त हुनुलाई आफूले नेपाली फिल्मको बजार विस्तार र विश्व सिनेमामा नेपाली फिल्मको दायरा फराकिलो भएको अर्थमा बुझेको भामले बताउनुभयो ।
‘कालोपोथीपछि मैले यो अवसर पाएको थिइन । यसपटक शाम्बालाले त्यो अवसर दिएको छ । खुसी छु’ उहाँले भन्नुभयो ।
जुरी प्रमुख भाम र फेस्टिभल प्रमुख एवं रुसका प्रसिद्ध फिल्ममेकर अलेक्जइ उचिटेलले संयुक्त रुपमा फेस्टिभलको उद्घाटन गरेका थिए ।
यस वर्षको फेस्टिभलमा ३० मुलुकका ७८ फिल्म छनोट भएका छन् ।
मीनबहादुर भाम नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्याउन सफल निर्देशक हुनुहुन्छ । पहिलो निर्देशकीय छोटो चलचित्र ‘बाँसुल्ली’ लाई भेनिस चलचित्र महोत्सवसम्म पुर्याउन सफल भएका भामको दोस्रो चलचित्र ‘कालोपोथी’थुप्रै महोत्सवमा सहभागी भयो । त्यसपछि अन्तर्राष्ट्रिय महोत्सवमा बलियो निर्देशक बने भाम। उहाँले पछिल्लो समय आठ वर्ष लगाएर दोस्रो चलचित्र ‘साम्बाला’ तयार गर्नुभएको हो ।