विश्वभरका नेपालीमाझ भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २९ असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गर्नुभएको बताउनुभएको छ ।
राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो ।

नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका भानुभक्त नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको उहाँको भनाई छ ।

“भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभयो ।” उहाँले भन्नुभयो – “भानुको योगदानले राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको भावनालाई अझ बलियो बनाएको छ । आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन् । यो आदिकविको योगदानको निरन्तरता नै हो ।”

भानुले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएको हुँदा यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उहाँको भनाई छ ।

उहाँले थप्नुभयो – “भानुभक्तका कृतिहरूमा केवल धार्मिक भावनाको अभिव्यक्ति मात्र छैन” त्यहाँ नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो चेतना पनि अभिव्यक्त भएको पाइन्छ ।”

आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै उहाँका कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक रहेकोमा जोड दिनुभयो । गण्डकी प्रदेश नेपाली भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश रहेको बताउँदै उहाँले यस प्रदेशमा रहेका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले भाषा तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पु¥याइरहेकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

आयोजक भानु वाङ्मय प्रतिष्ठानले नेपाली भाषाको उन्नयन र सम्वद्र्धनका लागि नेपाली विषयमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरी प्रेरणा जगाउने काम गर्दै आएकोमा आभार पनि व्यक्त गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला