पोखरा, २० असार । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व। केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुनुहुन्छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।
३ दिनअघिमात्र निधन भएका स्व.पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गर्नुभयोे ।
सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।
गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुनुहुन्थ्यो । पोखरेली नवरत्नबाट सम्मानित उहाँ स्वतन्त्रता सेनानी पनि हुनुहुन्थ्यो । उहाँले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ ।
अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुनुहुन्छ । पत्रकारिता उहाँका लागि पेसा मात्र भएन, दर्शन बन्यो । २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उहाँ ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थाल्नुभएको हो । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो ।
२०१४ सालमा जन्मिनुभएको अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उहाँ तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहनुभएको छ । दर्जन बढी मिडियामा काम गरिसकेका उहाँ हाल एभिन्यूुजका संवाददाता हुनुहुन्छ ।
तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । उहाँको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका -२०३९ सालदेखि) निरन्तर प्रकाशित छ । उहाँले समाचार मात्र होईन इतिहास पनि लेख्नुभयो ।
सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुनुहुन्छ । पर्वतमा उहाँले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संघीयताको जडको विवेचना नगर्ने हो भने ढिलोचाडो मुलुक द्वन्द्वमा फस्ने दाबी गर्नुभयो । विगत ३५ वर्षमा केही नभएको भन्नु गलत हो भन्दै उहाँले देशले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।
‘प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा दुईमत छैन । सत्य बोल्ने र सत्य लेख्न कसैले छेक्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘आज प्रविधिसँगसँगै आमसञ्चारजगत् फड्को मारेको र त्यत्तिकै चुनौती पनि थपिएको छ ।’ सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारिताबीच जनतालाई फरक हो भन्ने बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारका कमीकमजोरीबारे पनि मिडियाले औंल्याइदिनुपर्ने बताउनुभयो ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले इतिहास अभिलेखीकरणबाट मात्र बाँच्दछ भन्दै अग्रज पत्रकारको सम्मानको थालनी गरिएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यदि संघर्ष, अनुभव र योगदान दस्तावेजीकरण गरिएन भने एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै र बिर्सदै जान्छ । त्यसैले अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रुपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरेका हौं ।’ उहाँले सत्य, निष्पक्ष, व्यावसायिकता र उत्तरदायित्वमा आधारित पत्रकारितालाई सुदृढ बनाउन प्रेस रजिष्ट्रारको कार्यालय लागिपरेको बताउनुभयो ।
सम्मानित पत्रकारतर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति खुसी व्यक्त गर्दै शासक र जनताबीच रहेर काम गर्ने पत्रकार हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताउनुभयो । पत्रकारलाई स्वास्थ्य बिमामा अपेक्षाकृत बजेट काटेर आएकोमा गुनासो गर्नुभयो । नवीकरण फेल भएका संचारमाध्यमलाई एकपल्ट छुट गरेर नवीकरणको सुविधा दिन उहाँले माग गर्नुभयो ।
अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकीका पूर्व अध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल र प्रेस रजिष्ट्रार बिमला भण्डारी थिए ।
सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रेस रजिष्ट्रार बिमला भण्डारीले गर्नुभएको थियो । स्वच्छ प्रेस ः समुन्नत गण्डकी प्रदेश नाराका साथ आयोजित कार्यक्रमको संचालन पत्रकार अमृत सुवेदीले गर्नुभयो ।
सोही अवसरमा २ सेसन मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई विषयमा वक्ताले गहन छलफल गरेका थिए ।















