मैदानको मुस्कान र नीतिको सुस्केरा

नगेन न्यूज
  • ख-
  • ख+

अँध्यारोभित्रको उज्यालो सङ्घर्ष

ज्योती हमाल, पोखरा, असार १३ । बिहानी सूर्यको पहिलो किरण माछापुच्छ्रेको सेतो टाकुरामा ठोकिनु अगावै पर्यटकीय सहर पोखराको टेनिस मैदानमा एउटा अर्कै चमक सल्बलाउन थाल्छ । १५ वर्षीय बालकद्वय अभिषेक बि.क र सुरेन्द्र बि.क. का र्‍याकेटले बल प्रहार गर्दा निस्कने ट्याक-ट्याक आवाजले निदाएको पोखरालाई बिउँझाउँछ । यी दुई बालकको कथा कुनै चलचित्रको काल्पनिक पटकथाभन्दा कम मार्मिक र प्रेरणादायी छैन ।
अभिषेक ५ वर्षको हुँदा आमाले छोडेर गएको र बुबा पनि कामको सिलसिलामा बाहिर रहँदा उहाँको बाल्यकाल निकै संघर्षपूर्ण थियो । अभिभावकको साथ त थियो, तर गरिबीको चिसोले सधैँ उहाँहरूको बाल्यकाललाई थिचिरह्यो । उहाँहरूका लागि जीवनको मोड तब फेरियो, जब प्रशिक्षक विनोद कायस्थले यी दुई बालकलाई सेती नदीको जोखिमपूर्ण खोंचमा मृत्युसँग खेल्दै पौडी खेलिरहेको देख्नुभयो । पानीको वेगसँग जुध्ने उहाँहरूको त्यो प्राकृतिक साहसलाई कायस्थले चिन्नुभयो र उहाँहरूलाई टेनिस कोर्टको अनुशासनमा बदल्ने साहसिक निर्णय लिनुभयो । आज यी दुई बालक प्रशिक्षक कायस्थकै घरमा बसेर प्रशिक्षण मात्र लिइरहेका छैनन् , उहाँहरूले श्रीलंकाको कोलम्बोमा आयोजित जुनियर डेभिस कप एसिया ओशिनिया यू १६ प्रि-क्वालिफाइङु मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय अनुभव समेत बटुलिसक्नुभएको छ ।
यो दृश्य केवल अभिषेक र सुरेन्द्रको मात्र होइन, पोखरा रङ्गशालाभित्र हरेक बिहान ५ बजेको चिसो सिरेटोलाई बेवास्ता गर्दै स-साना खुट्टाहरू मैदानतिर दौडिरहेका भेटिन्छन् । कोही फुटबलसँगै कुदिरहेका छन्, कोही करातेको किआई गरिरहेका छन्, त कोही भलिबलको नेटमाथिबाट आफ्नो उज्यालो भविष्य नियालिरहेका छन् । यो केवल खेल अभ्यासको दृश्य मात्र होइन, यो त नेपाली समाजको बदलिँदो सोच, अभिभावकको बढ्दो चेतना र नयाँ पुस्ताको खेलप्रतिको तीव्र भोकको प्रमाण हो ।

बदलिँदो चेतना र नीतिगत रिक्तताको दोसाँध

पछिल्लो समय नेपालमा “खेले बिग्रिन्छन्, पढे सप्रिन्छन्” भन्ने परम्परागत भाष्य तीव्र गतिमा भत्किँदै छ । मोबाइल र डिजिटल ग्याजेटको लतबाट आफ्ना सन्तानलाई बचाउन र उनीहरूको शारीरिक तथा मानसिक विकास सुनिश्चित गर्न अभिभावकहरू आफैँ बालबालिकालाई मैदानसम्म डोर्‍याउन थालेका छन् । पोखरा रङ्गशालामा बढ्दै गएको बालबालिकाको उपस्थिति नेपालका लागि एउटा अभूतपूर्व अवसर हो । तर, खेलाडी उत्पादनको यो उत्साहलाई दिगो राष्ट्रिय उपलब्धिमा बदल्न आवश्यक पर्ने न्यूनतम पूर्वाधार, दक्ष प्रशिक्षकको उपलब्धता र दीर्घकालीन खेल नीतिको अवस्था भने अत्यन्तै दयनीय र चिन्ताजनक देखिन्छ। यो आलेखले मैदानमा देखिएको उत्साह र राज्यको उदासीनताबीचको यही भयावह खाडललाई उधिन्ने र समाधानका उपायहरू खोज्ने प्रयास गरेको छ ।

जेन्जी पुस्ता र खेलप्रतिको बदलिँदो आकर्षण

पोखराको सडक र गल्लीहरूमा हिजोआज बालबालिकाहरू मोबाइल बोकेर होइन, खेल पोसाकमा सजिएर हिँडेको देखिनु सुखद पक्ष हो। अभिभावकहरू बिहानै ५ नबज्दै आफ्ना छोराछोरीलाई फुटबल बुट, करातेको गि वा टेनिस र्‍याकेट बोकाएर रङ्गशाला पुर्‍याइरहेका हुन्छन् । यो दृश्यले नेपाली खेलकुदमा नयाँ पुस्ताको रुचिलाई मात्र होइन, अभिभावकको सोचमा आएको आमूल परिवर्तनलाई पनि सङ्केत गर्छ ।
डिजिटल लतले बालबालिकामा देखिएको एक्लोपन र स्वास्थ्य समस्याका लागि खेलकुद एउटा बलियो ओखती साबित भएको छ। १४ वर्षीया सानी शेरचन यसको ज्वलन्त उदाहरण हुनुहुन्छ । इन्जिनियर बुबा र बैङ्कर आमाकी छोरी सान्वी विगत ८ वर्षदेखि टेनिसमा हुनुहुन्छ । ६ वर्षको उमेरमा “समर क्याम्प” बाट सुरु भएको उहाँको यात्राले श्रीलंकामा सम्पन्न यू-१४ एसिया खेलमा दोस्रो स्थान हासिल गर्ने सफलता दिलायो । उहाँ भन्नुहुन्छ, नेपालको नाम उच्च पार्न पाउँदा गर्व लाग्छ, तर यहाँका कोर्टहरूको स्तर र मर्मत सम्भारको अवस्था देख्दा दुःख लाग्छ।”
१२ वर्षीय आर्यशराज पौडेलको कथा पनि उस्तै प्रेरणादायी छ । उहाँले श्रीलंका, भियतनाम र मलेसियामा अन्तर्राष्ट्रिय अनुभव बटुलिसक्नुभएको छ । आफ्ना साथीहरू मोबाइलमा व्यस्त हुँदा उहाँ कोर्टमा पसिना बगाउन रुचाउनुहुन्छ ।  तर, उहाँ सरकारसँग एउटै माग गर्नुहुन्छ “वैदेशिक भ्रमण र प्रशिक्षणमा राज्यले सहयोग गरिदिए हामी अझै राम्रो गर्न सक्छौँ।”

यस्तै, करातेका सजन अर्याल, एथ्लेटिक्सकी एन्जल अधिकारी र क्रिकेटका रणिस पौडेलहरूको सामूहिक पीडा एउटै छ पानी पर्दा ओत लाग्ने इन्डोर हल छैन, रात्रिकालीन अभ्यासका लागि फ्लड लाइट छैन र वैज्ञानिक प्रशिक्षणका लागि आधुनिक उपकरण छैनन् ।
मोबाइल र कोचिङ कक्षाको चार पर्खालमा सीमित मानिने जेन्जी पुस्ता अहिले पोखराका खेल मैदानतर्फ आकर्षित भइरहेको छ । यो डिजिटल लत विरुद्धको एउटा मौन सामाजिक क्रान्ति हो, तर यसलाई राज्यको फितलो पूर्वाधार र पुरातन नीतिले गिज्याइरहेका छन् ।

प्रशिक्षक सङ्कट रित्तिएका गुरु र खेलकुदको अन्धकार युग

बालबालिकाको आकर्षण बढे पनि उँहाहरूलाई बाटो देखाउने गुरुहरूको अवस्था भने निकै चुनौतीपूर्ण छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्कीका अध्यक्ष राजन पौडेलका अनुसार नेपाली खेलकुद अहिले प्रशिक्षक शून्यताको सङ्घारमा छ ।
तथ्याङ्क अनुसार विगत २५-२६ वर्षदेखि नयाँ प्रशिक्षक नियुक्ति नहुँदा देशभरका करिब ३०० प्रशिक्षकमध्ये २०८४ सालसम्म २०० भन्दा बढीले अनिवार्य अवकाश पाउँदै छन् । “यो भनेको नेपाली खेलकुदको जग नै भत्किनु हो”, पौडेल चिन्ता व्यक्त गर्नुहुन्छ । पोखराका धेरै प्रशिक्षकहरू अहिले स्वयंसेवकका रूपमा काम गरिरहेका छन् ।

क्युकोसिन कान करातेका प्रशिक्षक विनोद नेगी भन्नुहुन्छ, प्रशिक्षकहरूले निःस्वार्थ रूपमा प्रतिभा उत्पादन गरिरहेका छन्, तर उँहाहरूको जीविकोपार्जन र वृत्तिविकासको कुनै सुनिश्चितता छैन।”
एथ्लेटिक्स प्रशिक्षक सिद्धान्त अधिकारीको गुनासो छ “सरकारले एथ्लेटिक्सलाई केवल स्वास्थ्यका लागि दौडिने माध्यम मात्र ठान्यो, यसलाई व्यावसायिक बनाउने कुनै नीति नै छैन।”

भलिबल प्रशिक्षक रमेश केसी र मलिन रोकाका अनुसार राष्ट्रिय खेल भलिबलका प्रतिभाशाली खेलाडीहरू भविष्य नदेखेर विदेश पलायन भइरहेका छन् ।

प्रशिक्षकहरू आर्थिक रूपमा सुरक्षित नभएसम्म र उँहाहरूको नयाँ पुस्ता उत्पादन गर्ने ढोका नखुलुञ्जेल मैदानमा आएका हजारौँ बालबालिकालाई अन्तर्राष्ट्रिय पदकको बाटो देखाउन असम्भव प्रायः छ ।

विद्यालय खेलाडी उत्पादनको प्राथमिक पाठशाला

खेलाडी उत्पादनको प्राथमिक थलो विद्यालय नै हो । पोखराका केही सरकारी विद्यालयहरूले खेलकुदलाई शिक्षाको अभिन्न हिस्सा बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन् । छोरेपाटन माध्यमिक विद्यालय यसको उत्कृष्ट उदाहरण हो ।यहाँकी छात्रा नारायणी भण्डारीले पोखरा स्पोर्ट्स अवार्ड २०८२ मा उत्कृष्ट एथ्लेटिक्सको उपाधि जित्नुभएको थियो भने साफ र वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाईसक्नुभएको छ। त्यस्तै, साधना परियारले राष्ट्रिय स्तरको ८०० मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो ।
तर, निजी विद्यालयहरूको समस्या बेग्लै छ । एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार निजी विद्यालयले आफ्नै खर्चमा प्रशिक्षक राखेर खेलाडी उत्पादन गरे पनि सरकारी रङ्गशाला प्रयोग गर्दा समेत भारी शुल्क तिर्नुपर्ने बाध्यता छ ।

विद्यालय तहमा हप्ताको कम्तीमा एक दिन अनिवार्य खेलकुद पिरियड र पाठ्यक्रममै खेल शिक्षा समावेश नगरेसम्म दिगो रूपमा खेलाडी उत्पादन हुन सक्दैन भन्ने निष्कर्षमा पुगेका छन् खेल शिक्षकहरू दिलीप गुरुङ, रोमन थापा मगर र भीमबहादुर थापा।

तथ्याङ्कको उकालो र बजेटको ओरालो यात्रा

बालबालिकाको खेलप्रतिको आकर्षणलाई सरकारी तथ्याङ्कले पनि पुष्टि गर्छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिका निर्वतमान सदस्य सचिव सुवास खड्काका अनुसार राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने बाल खेलाडीको सङ्ख्या २०८१ मा ३२०० रहेकोमा २०८२ मा बढेर ३५०० पुगेको छ । त्यस्तै, विद्यालय सहभागिता ९२ पुगेको छ ।
तर, बजेटको तथ्याङ्कले भने राज्यको उदासीनताको डरलाग्दो रूप देखाउँछ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको बजेट प्रत्येक वर्ष करिब १ करोडका दरले घटिरहेको छ । आ,व. ०८०र८१ मा १९ करोड ४९ लाख रहेको बजेट ०८२र८३ मा झरेर १७ करोड ८८ लाखमा पुगेको छ । त्यस्तै, प्रदेश खेलकुद परिषद् गण्डकीको बजेट पनि आ.व. ०७९र८० मा १२ करोड २१ लाख रहेकोमा ०८२र८३ मा घटेर १० करोड ९ लाखमा खुम्चिएको छ ।
सहभागिताका हिसाबले सफल म्याराथनमा २०८१ मा २७६५ बालबालिका दौडिएका थिए, तर २०८२ मा यो सङ्ख्या केही घट्यो । नेपाल भूतपूर्व खेलाडी मञ्चका होम गुरुङका अनुसार दर्ता शुल्क वृद्धि र सामाजिक अस्थिरताले बालबालिकाको मैदानसम्मको पहुँचमा तगारो हाल्ने गरेको छ । खेलाडीको सङ्ख्या बढ्ने तर राज्यको लगानी र प्राथमिकता घट्ने यो प्रवृत्तिले नेपाली खेलकुदलाई कता पुर्‍याउँला ।
नेपालमा २०८४ सालसम्म मौजुदा प्रशिक्षकमध्ये झण्डै ७० प्रतिशतले अवकाश पाउँदै छन्। नयाँ नियुक्ति नहुँदा सिर्जना हुने यो रिक्तताले मैदानमा आएका हजारौँ बालबालिकालाई गुरुविहीन बनाउने गम्भीर खतरा छ ।

खेलकुदलाई विज्ञान र व्यवस्थापनको रूपमा बुझ्नुपर्ने खाँचो

गण्डकी विश्वविद्यालयका खेलकुद विभाग प्रमुख डा. मधुसुदन सुवेदी खेलकुदलाई केवल मनोरञ्जन होइन, विज्ञान र व्यवस्थापनका रूपमा बुझ्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँका अनुसार खेलकुदले सेरोटोनिन उत्पादनमार्फत बालबालिकाको मानसिक स्वास्थ्य सुधार गर्छ र उँहाहरूको मोटर स्किल्स विकास गर्छ ।
नेपाली खेलकुदको मुख्य समस्या भनेकै खेलाडीको पोस्ट प्लेइङ करियर सुनिश्चित नहुनु हो, डा, सुवेदी भन्नुहुन्छ । उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरचनामा विज्ञभन्दा राजनीतिक नियुक्तिको प्रभाव बढी हुँदा निर्णय प्रक्रिया कमजोर बनेको छ । खेलाडी पहिचानका लागि एन्थ्रोपोमेट्रिक टेस्ट शारीरिक बनावट परीक्षण र ग्रासरुटु देखि नै डिजिटल डाटाबेस निर्माण गर्न सके मात्र हामीले सही प्रतिभालाई सही खेलमा लगाउन सक्छौँ ।

गण्डकी विश्वविद्यालयले सुरु गरेको स्पोर्ट्स म्यानेजमेन्ट अध्ययनले यो अभावलाई केही हदसम्म पूर्ति गर्ने आशा जगाएको छ ।

अभिभावकको नजरमा खेलकुद लगानी कि खर्च

पोखरा रङ्गशालामा प्रशिक्षण लिइरहेका बालबालिकाका अभिभावकहरू दीपक कुवँर र छविलाल पौडेलका अनुसार खेलकुदमा लागेपछि बालबालिकाको आत्मविश्वास, अनुशासन र सामूहिक भावनामा निकै सुधार आएको छ । “बालबालिकालाई मोबाइलमा सीमित राख्नुभन्दा मैदानमा ल्याउनु निकै राम्रो हो,” उँहाहरु भन्नुहुन्छ । तर, उँहाहरूको एउटै चिन्ता छ के मेरो बच्चाले खेललाई नै पेसा बनाएर नेपालमा बाँच्न सक्छरु सरकारले गुणस्तरीय प्रशिक्षण, निष्पक्ष खेलाडी छनोट र खेललाई सुरक्षित पेसाका रूपमा विकास नगरेसम्म अभिभावकको यो उत्साह धेरै समय टिक्न सक्दैन । खेलकुद खर्च होइन, यो हाम्रा सन्तानको भविष्यका लागि गरिएको लगानी हो, भन्ने बुझाइ आम अभिभावकमा पुग्नु जरुरी छ ।
मन्त्रालयको तथ्याङ्कले खेलकुद बजेट वर्षेनी ५ देखि १० प्रतिशतले घटिरहेको देखाउँछ। खेल मैदानमा बालबालिकाको भीड बढ्दै गर्दा राज्यको लगानी ओरालो लाग्नुले खेलाडी राष्ट्रको सम्पत्तिु भन्ने नारालाई नै व्यङ्ग्य गरिरहेको छ ।

अवसर र बेवास्ताको चपेटामा साना पाइला

पोखराका खेल मैदानहरू अहिले बालबालिकाको पसिना र उत्साहले भरिएका छन्। सडक र रङ्गशालामा दौडिरहेका यी साना पाइलाहरूले राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय पदकको सपना देखिरहेका छन् । यो नेपालका लागि एउटा दुर्लभ गोल्डेन जेनेरेसन उत्पादन गर्ने समय हो । खेलकुदले बालबालिकालाई अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीतर्फ अघि बढाइरहेको छ ।
तर, मैदानमा देखिएको यो मुस्कानलाई दिगो राष्ट्रिय उपलब्धिमा बदल्न राज्यले आफ्नो उदासीनता त्याग्नैपर्छ । राजनीतिक नियुक्ति, बजेट कटौती र पूर्वाधारको अभावले यी प्रतिभालाई थिच्नु हुँदैन । यदि हामीले आजै वैज्ञानिक प्रशिक्षण, दक्ष प्रशिक्षकको नयाँ नियुक्ति र खेलपछिको करियरको सुनिश्चितता गर्न सकेनौँ भने, भोलि हामीसँग खेलाडी नभएको खेलकुद क्षेत्र र पछुताउनुपर्ने राज्यु मात्र बाँकी रहनेछ। सडकका यी साना पाइलाहरूलाई सही मार्ग र मैदान दिनु आजको अनिवार्य आवश्यकता हो । मैदान भरिँदै छन्, अब पालो राज्यको नीति र नियत भरिने हो। खेलकुदलाई केवल मनोरञ्जन होइन, राष्ट्रिय गौरव र समृद्धिको आधार बनाउन ढिला भइसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला