पोखरा, असार ३ । ११औँ अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा “स्वास्थ्य र दीर्घायुका लागि योग” भन्ने मूल नाराका साथ तीनदिने योग प्रोटोकल अनुशिक्षण तथा योग विज्ञान शिविर कास्कीमा सम्पन्न भएको छ ।
युवा नेपाल समिति गण्डकीको आयोजनामा असार १ देखि शुरु भएको उक्त कार्यक्रम बुधबार (आज) सम्पन्न भएको हो ।
सरगम टोल उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भएको शिविर पोखरा–१७, छोरेपाटनस्थित सिमलटुँडा टोल विकास संस्थाको सरगम पार्कचौरमा भएको थियो ।
कार्यक्रम युवा नेपाल समितिकी अध्यक्ष जमुना थापाको अध्यक्षता र वडा नं १७ कि जनप्रतिनिधि विष्णु थापा भुजेलको प्रमुख अतिथिमा तीन दिनसम्म सञ्चालन भएको सो शिविरमा ७० जनाको सहभागिता थियो ।
त्यसैगरी कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्व देवराज आचार्य विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने यस समितिका नेपाल कास्की जिल्ला मिडिया प्रभारी दयाराम पौडेल, युवा नेपाल समितिका जिल्ला पदाधिकारी, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यस्तै शिविरमा सहभागी भएकाहरुलाई योगको वैज्ञानिक महत्व, दैनिक जीवनमा योगको आवश्यकता, प्राणायाम, ध्यान तथा विभिन्न योग अभ्यासबारे प्रशिक्षण प्रदान गरिएको समितिकी सचिव सोचना सेनले जानकारी दिनुभयो ।
विषेशगरी योगले मानव शरीर, मन र आत्मालाई सन्तुलित बनाउँदै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले योग अति महत्त्वपूर्ण रहेको समितिकी अध्यक्ष तथा यस शिविरकी प्रशिक्षक जमुना थापाले बताउनुभयो ।
आयोजकका अनुसार यस शिविरले योगप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास लिइएको जनाएको छ ।
















