शान्ति श्री परियारको प्रस्तुति
पोखरा, २५ जेठ । एसइईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै पोखरामा अब्बल विद्यालय शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो । पोखरा–५, पस्र्याङमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको शान्ति निकेतनमा पहिलो वर्ष नै १२० जना विद्यार्थी भर्ना भएका छन् ।
विज्ञान संकायतर्फ ८० जना र व्यवस्थापनतर्फ ४० जना सीट छुट्याइएकोमा लक्ष्य अनुरुप उच्चतम् ४ जीपीए प्राप्त गरेकासहित स्तरीय विद्यार्थी भर्ना भएको संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिनुभयो ।
विज्ञान विषय प्रातः र दिवा तथा व्यवस्थापनका कक्षा दिवा सत्रमा हुने गरी व्यवस्थापन मिलाइएको स्कुलले जनाएको छ । निकट भविष्यमै मानविकी लगायतका संकाय थप गरिने योजना बनाएको छ ।
स्कुलले नवआगन्तुक विद्यार्थीलाई सपथ खुवाउँदै स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. भरत बहादुर खत्रीले विद्यार्थीका लागि इमान्दारिता र मेहनत अपरिहार्य रहेको बताउनुभयो । …जीवनमा के बन्ने ? भन्ने लक्ष्य निर्धारण गर्नुपर्दछ । त्यसमा सफल हुनका लागि मेहनत अत्यन्त जरुरी छ । इमान्दार बन्ने, मेहनत गर्ने, जिन्दगीमा सफल हुने । यही मुलमन्त्रका साथ अघि बढ्नुपर्छ ।Ú – प्रा.डा. खत्रीले भन्नुभयो । जुनै विषय लिएर पढेपनि उत्कृष्ट बन्न सके त्यस क्षेत्रमा सफल हुने डा. खत्रीले बताउनुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोम भण्डारीले शान्ति निकेतन स्कुलको गतिविधिलाई नजिकबाट नियालिरहेको बताउँदै पोखराभित्रका विद्यालयमध्ये उत्कृष्ट नतिजाका कारण अग्रणी स्थानमा रहेको बताए । …शान्ति निकेतनले एसइईसम्म हाँसिल गरेको उपलब्धिलाई कक्षा ११ र १२ मा पनि निरन्तरता दिनेमा पूर्ण विश्वास छ ।Ú भण्डारीले भन्नुभयो ।
शान्ति निकेतनका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै स्तरीय शैक्षिक सेवा प्रदान गरिने बताउनुभयो । आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विश्वास राख्ने उहाँको भनाई छ ।
स्कुलका बोर्ड अफ डाइरेक्टर किरण सापकोटाले शान्ति निकेतनको गरिमालाई अझै प्रतिष्ठित बनाउने गरी मेहनत गर्न विद्यार्थीलाई उत्प्रेरित गर्नुभयो । …पहिलो ब्याचका विद्यार्थी बन्नु सौभाग्यशाली क्षण हो । विद्यार्थीले यो दुई वर्ष निकै मेहनत गरेर पढाईमा ध्यान दिनुपर्नेछ ।Ú सापकोटाले भन्नुभयो – …सपनाको विजारोपण गरेको पहिलो वर्ष नै यति धेरै माया, विश्वासका साथ अभिभावकहरूले छोराछोरी पठाउनुभएको छ । विद्यार्थीले शान्ति निकेतन रोजाईमा पारेका छन् । यो खुशीको विषय हो ।Ú
कक्षा १२ को नतिजामा उत्कृष्टताका आधारमा नेपालमै एक अब्बल विद्यालय प्रतिभा माविका प्राचार्यसमेत रहेका सापकोटाले प्रतिभा र शान्ति निकेतन …जोइन्ट भेन्चरÚ का रुपमा रहेकाले दुवैतर्फ उही स्तरका पढाई हुने बताउनुभयो । …हरेक शैक्षिक गतिविधि साझा रुपमा अघि बढ्नेछन् । शिक्षकहरू अनुभवले खारिएका छौँ, मेहनतले तिखारिएका छौँ ।Ú सापकोटाले भन्नुभयो – …विद्यालयबाट कुनै कमजोरी हुने छैन । विद्यार्थीका तर्फबाट आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट कुनै छोराछोरी नरोकिनू । सगरमाथा नचढुन्जेल अग्लो लाग्ने हो । सगरमाथा छुने सपना पाल्नू ।Ú
गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य रबि बरालले शान्ति निकेतन स्कुलले पोखराको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएको उल्लेख गर्दै शैक्षिक प्रगतिको कामना गर्नुभयो ।
अभिभावकका तर्फबाट डिज्नील्याण्ड स्कुलका संस्थापक प्राचार्य नरेशप्रसाद बरालले प्रत्येक वर्ष एसइईको नतिजाले अब्बल शैक्षिक संस्थाका रुपमा आफूलाई उभ्याएको हुनाले नै आगामी दिनमा उस्तै नतिजाको अपेक्षाका साथ आफ्नी छोरीलाई शान्ति निकेतनमा भर्ना गरेको बताउनुभयो ।
शान्ति निकेतन स्कुलबाटै उच्चतम् ४ जीपीए ल्याएर स्कुललाई निरन्तरता दिएका सखिम भण्डारीले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको माया र प्रेरणा तथा अब झनै सुविधासम्पन्न भौतिक संरचनाका कारण स्कुल छाड्न नसकेको बताउनुभयो । उहाँलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।
नव आगन्तुक विद्यार्थीका तर्फबाट खुशी अधिकारीले पहिलो ब्याचका रुपमा भर्ना हुन पाउँदा खुशी लागेको बताउँदै कडा मेहनतका साथ अध्ययन गर्ने प्रतिबद्धता जनाउनुभयो । १३ वर्षको कलिलो उमेरमै एसइईमा उत्कृष्ट नतिजा -ए प्लस) ल्याएर उत्तीर्ण भएका पर्वतका विवेक शर्मा पनि शान्ति निकेतनमै कक्षा ११, विज्ञान संकायमा भर्ना भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्यालले स्वागत र परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यस्तै, अहिलेकी चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले शान्ति निकेतनका नवआगन्तुक विद्यार्थीलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभयो । उहाँले आफ्ना हिटगीत मार्फत् विद्यार्थी र अभिभावकलाई छमछमी नचाउनुभयो ।
















