पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २१ जेठ । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

शुक्रबारसम्म चल्ने दुई दिने कार्यशालामा क्याम्पसमा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थी सहभागी रहेका छन् ।

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस प्रकारको गोष्ठीले विद्यार्थीलाई लेखनमा सहजता मिल्ने बताउनुभयो । क्याम्पस प्रमुख पाठकले विषयगत विज्ञ प्राध्यापकहरूको अनुभव र ज्ञानलाई विद्यार्थीले ग्रहण गरी शोधपत्र लेखनका क्रममा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

अतिथि सहप्रा.डा. भीमनाथ बरालले इतिहास विषयका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको शोधपत्र प्रस्ताव लेखन प्रशिक्षणले राम्रो शोधपत्र तयारीका लागि सहयोग पुग्ने बताउनुभयो ।

विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले त्रिभुवन विश्वविद्यालय, इतिहास तथा संस्कृति विभागले यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीलाई प्रमुख प्राथमिकता दिएको बताउँदै विद्यार्थीलाई सहज पठनपाठनका लागि भौतिक तथा अनलाइन कक्षा कतैपनि कमजोरी हुन नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “इतिहास विषयको समयानुकुल पाठ्यक्रम परिमार्जन भइरहेको छ । पृथ्वीनारायण क्याम्पसमा पछिल्लो तीन वर्षलाई हेर्ने हो भने पनि विद्यार्थीको रुचि बढेको देख्दा हामी हर्षित छौं ।”

शोध–पत्र प्रस्ताव लेखनका प्रमुख प्रशिक्षक प्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावबारे शिक्षा प्राप्त गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे सचेत गराउने विषय इतिहास रहेको बताउनुभयो ।

सहप्राध्यापक डा. दीर्घमान गुरूङले अहिले र पहिलेको विश्वलाई तुलनात्मक दृष्टिकोणले बुझ्ने र विगतका अनुभवबाट शिक्षा लिँदै आजको दिशा निर्धारण गरी भविष्यको गन्तव्य तय गर्ने विधा नै इतिहास रहेको उल्लेख गर्नुभयो ।

उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले जुन मुलुकले इतिहासको अध्ययनलाई महत्व दिएर आफ्नो सभ्यता र संस्कृतिलाई इतिहासबाट पाठ सिक्दै जगेर्ना गर्ने प्रयत्न गरेको हुन्छ, त्यो देशले विकासमा फड्को मारेको बताउनुभयो ।
गोष्ठीमा प्रमुख प्रशिक्षक प्राध्यापक अर्जुन बहादुर भण्डारी, सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, उपप्राध्यापक लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटाले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका छन् ।

विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठी शुभारम्भ कार्यक्रममा तोयनारायण देवकोटाले स्वागत र उपप्राध्यापक चन्द्रकान्त पौडेलले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला