रेडक्रस, कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १७ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर/युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ ।
जेठ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका ११० ओटा सर्कलले भाग लिएका जुनियर/युवा सर्कल संयोजक तथा रेडक्रस, कास्कीका उपमन्त्री डिल्लीराम बरालले जानकारी दिनुभयो ।

शीतलादेवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताउनुभयो । नैतिकता, अनुशासन, विधि र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अगि बढेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा आजको भन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई अन्त्य गर्नका लागि सचेत भएर अगि बढ्नुपर्नेमा जोड दिनुभयो । मानवसेवामा लाग्नु सबैभन्दा पवित्र कार्य भएकाले विद्यार्थीहरूलाई त्यसतर्फ मार्गदर्शन गर्ने कुरामा रेडक्रसको विशेष योगदान रहेको कार्कीको भनाइ छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीकी अध्यक्ष उर्मिला भण्डारीले रेडक्रसले अनेकौँ अप्ठ्याराहरूका बाबजुद जुनियर तथा युवाहरूलाई आत्मनिर्भरता र सेवाभावसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
सो अवसरमा उत्कृष्ट शिक्षक नायकका रूपमा छोरेपाटन मावि, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीलाई सम्मान गरिएको थियो । त्यसै गरी उत्कृष्ट सर्कलका रूपमा शिवशक्ति मावि, जनप्रिय मावि र बाराही माविका जुनियर रेडक्रस सर्कल तथा रेडक्रस राखी उपशाखा र रेडक्रस उपशाखा वडा नम्बर १२ लाई सम्मान गरिएको थियो ।

सो अवसरमा शिक्षक नायक र विद्यार्थीहरूका लागि दुई दिनसम्म विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए । शिक्षामा एआईको प्रयोगका सम्बन्धमा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू खेमराज पौडेल, रुपिन्द्र प्रभावी, श्रीकान्त पौडेल तथा धर्मेश जयसवालले सहजीकरण गरेका थिए ।
मानसिक व्यवस्थापनसम्बन्धी भक्तराज रसाइलीले, रेडक्रस गतिविधिबारे डिल्लीराम बरालले, रक्तदानसम्बन्धी अर्जुन ज्ञवालीले, मानवसेवामा युवाहरूको अनुकूलनबारे प्रिन्सा रेग्मीले सहजीकरण गर्नुभएको थियो । त्यसै गरी साइबर अपराध, विद्यालय स्वास्थ्य र मनोपरामर्श, विपद् तथा फोहोरमैला व्यवस्थापनबारे यमुना केसी, मोहन खड्का, सूर्यप्रसाद तिमिल्सिनालगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले कार्यक्रम आयोजनासम्बन्धी अनुभव सुनाउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसअगि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गर्नुभएको थियो । उहाँले विद्यार्थी जीवनबाट नै रेडक्रस जस्तो स्वयम्सेवी संस्थामा लागेर सेवाकर्ममा लागेका विद्यार्थी देखेर आफूलाई खुसी लागेको बताउनुभयो । समाजमा विद्यमान विसङ्गति हटाउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै सभामुख धितालले मानव स्रोत नै सबैभन्दा ठुलो कुरा भएको बताउनुभयो ।
कार्यक्रममा रेडक्रस, कास्कीका मन्त्री सन्तोष अधिकारी, पूर्वअध्यक्ष डण्डराज शर्मा, पोखरा महानगरपालिका, वडा नम्बर १२ की सदस्य शान्ति कोइराला, विद्यालयका शिक्षक नायक रामचन्द्र अधिकारीलगायते बोलेका थिए ।
सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
सोही अवसरमा १० बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्र लेखन कार्यदलका संयोजक रेडक्रस, कास्कीका सदस्य श्रीकान्त पौडेलले जुनियर तथा युवा रेडक्रस सर्कललाई सिर्जनशील बनाउनका विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो । विद्यालयलाई सुरक्षित र बालमैत्री शिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि जुनियर रेडक्रसका सदस्यहरूले भूमिका खेल्नेलगायतका बुँदा समेटिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।
…मानवताका लागि एकबद्ध होऔँÚ भन्ने मूल नाराका साथ रेडक्रसले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला