लेकसिटी कलेजमा स्नातक विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १६ । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रम आयोजना गरि विदाइ गरेको छ । स्नातक तह तृतीय वर्षको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई खादा र मायाको चिनोसहित विदाइ गरिएको हो ।
कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समितिका अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले लेकसिटी कलेज सदैव समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो । सोही अवसरमा प्रा. डा. पराजुलीले विद्यार्थीहरुलाई समाजको हितका लागि क्रियाशील हुन सुझाव दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि गण्डकी विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. किसन कोइरालाले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले आगामी दिनमा आउने चुनौतिहरुको सामना नआत्तिकन गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले कलेजका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । शैक्षिक, सामाजिक र खेलकूद लगायतका अतिरिक्त क्रियाकलापमा लेकसिटीका विद्यार्थीले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीद्य सम्झना भट्टराई र टेक गुरुङले लेकसिटीमा अध्ययन गर्दाका क्षणहरुको स्मरण गर्नुभएको थियो । उहाँहरुले कलेज जीवनमा सिकेका ज्ञान र सीप महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
कलेजमा बिएएसडब्लु चौथो वर्षमा अध्ययनरत विद्यार्थी आयुष मल्लको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन बिएएसडब्लु चौथो वर्षमा अध्ययनरत विद्यार्थीद्धय आशिका सुवेदी र सृष्टी परियारले गर्नुभएको थियो ।
कार्यक्रममा कलेजको खेलकूद प्रतियोगितामा विजयी विद्याथीहरुलाई मेडल र सम्मानपत्र प्रदान गरिएको थियो । सोही अवसरमा कलेजलाई खेलकूदका माध्यमबाट पहिचान दिलाउन सफल स्नातक तह पूरा गरेका विद्यार्थी सुलभ पुनलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
विदाइ कार्यक्रम आयोजक मानविकी र व्यवस्थापनतर्फ स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिका रुपमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजमा अध्यापनरत प्राध्यापकहरुले विद्यार्थीहरुलाई टिका, खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ ।
रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु ९समाजसेवा० विषयमा पठनपाठन गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला