विद्युतीय पाश्र्वचित्र सम्बन्धि लेखनाथमा छलफल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले २६ देखी ३२ नं.वडाका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुसंग छलफल गरेको गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित विद्युतीय पाश्र्वचित्र निर्माणका लागि तथ्याङ्क सङ्कलन तयारी भेलामा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र महानगरपालिकाको योजना तर्जुमा, समावेशी विकास, सम्भावित प्राकृतिक प्रकोपको व्यवस्थापन लगायतको पूर्व तयारीका लागि आवश्यक प्रबन्ध गर्न सहज हुने भएकाले विद्युतीय पाश्र्वचित्र निर्माण गर्न लागिएको बताउनुभयो ।

यस प्रकारको आधारभूत तथ्याङ्क सङ्कलनले मात्र कुनै पनि स्थानको प्राथमिकता र आवश्यकताको पहिचान हुने भएकाले विकास निर्माणका गातिविधिहरु सञ्चालन गर्न सजिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । २५ गते देखी गणकहरू घरघरमा आउने जानकारी गराउँदै उहाँले गणकहरूलाई यथार्थ जानकारीहरू टिपाउन अनुरोध समेत गर्नुभयो ।

महानगरको समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

महानगरका प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङ्कको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुनेछ । महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्नेछ ।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला