विद्युतीय पाश्र्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै महानगरपालिका

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १९ वैशाख । पोखरा महानगरपालिकाले विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।
यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।

यस्तो प्रकारको तथ्याङ्क सङ्कलनले महानगरलाई आगामी योजनाहरू निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तथ्याङ्क सङ्कलन गर्न छनौट भएका सर्वेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
“समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्वपूर्ण सहयोग पुग्छ ।” उहाँका अनुसार सर्वेक्षकहरूले महानगरवासीका घरघरमा पुगेर यथार्थ विवरण सङ्कलन गर्नेछन् ।

नगरवासीहरूको प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङकको पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र त्यसलाई करको दायरामा ल्याउँदै प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक अभिमुखिकरण तालिम समेत प्रदान गरिसकिएको छ ।
उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला