शर्माको ११ औं एकल चित्रकला प्रदर्शनीमा चित्रसँगै कविता र नाटक एकैसाथ

नगेन न्यूज
  • ख-
  • ख+

गैंडाकोट । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबार गैँडाकोटस्थित किसान आर्ट ग्यालरीमा कलाकार भीमप्रसाद शर्माको ११ औं एकल चित्रकला प्रदर्शनीमा कवितात्मक समालोचनाको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

कलाकार भीमप्रसाद शर्माका २७ वटा चित्रमाथि गोविन्दराज विनोदी, सुमन पोखरेल, गीता त्रिपाठी, गोपी सापकोटा र सुदेश सत्यालद्वारा रचित १२५ कविताको सङ्ग्रहका रूपमा साझा प्रकाशनबाट प्रकाशित ‘इत्थंविध चित्र : इत्थंविध कविता’ नामक कृतिको विमोचन समेत गरियो ।

चित्र कवितामै आधारित “स्वप्नमय” नाटक मञ्चनबाट प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’द्वारा ‘कला, साहित्य, सङ्गीत र संस्कृतिको सवालमा सरोकारी निकाय र प्रज्ञा प्रतिष्ठानहरूको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रज्ञा परिषद् सदस्य अमर न्यौपानेद्वारा तयार पारिएको ‘साहित्य, कला, सङ्गीत र संस्कृतिबीचको अन्तरसम्बन्ध’ शीर्षकको गोष्ठीपत्र गोविन्दराज कोइरालाद्वारा प्रस्तुत भएको थियो ।
दुवै कार्यपत्र तथा गोष्ठीपत्रमाथि प्रखर टिप्पणीकार द्वय उदय अधिकारी र ईश्वर कँडेलद्वारा वस्तुगत टिप्पणीहरू प्रस्तुत भएका थिए ।
सुमन पोखरेल, सुदेश सत्याल र गुराँस ठकुरीद्वारा शर्माका चित्र माथि रचनावाचन गरिएको थियो ।

वरिष्ठ भाषाविद् प्रा. डा. चूडामणि बन्धु, रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी र डा. प्रमोद ढकालद्वारा शुभकामना मन्तव्य व्यक्त गर्ने सन्दर्भमा कार्यक्रमको उपलब्धिका बारेमा समेत चर्चा गरिएको थियो ।
उक्त कार्यक्रम गैँडाकोट नगरप्रमुख तथा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति मदनभक्त अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संस्कृति विभाग प्रमुख राधा पाण्डेले गर्नुभएको थियो ।

उक्त एकल चित्रकला प्रदर्शनी बैशाख २५ गतेसम्म हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला