मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ८ वैशाख । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तिहरुका लागि मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त अभिमूखीकरण कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गर्नुभएको थियो ।

दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गईरहेकोले यसका न्यूनीकरण गर्न हरेक वडाहरुमा क्रमशः यस्तै अभिमूखीकरण कार्यक्रमको आयोजना गरिने कोशिश संस्थाका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न परिस्थिति वा कठिनाईसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गर्न पुग्ने अवस्थाको जोखिमलाई कम गर्न यस्ता अभिमूखीकरण कार्यक्रमहरु सहयोगी हुने कोशिशका परियोजना संयोजक घिमिरेको भनाई थियो ।

संयोजक घिमिरेले भन्नुभयो–‘यस्तो अवस्थामा पुगेका व्यक्तिले आफ्नो परिवार, समाज र साथीभाइसँग आफूले भोगेका पीडालाई भन्ने प्रयास गरिरहेका हुन्छन् । यस्तो अवस्थामा परिवार, समाज र साथीभाइले व्यक्तिको समस्या एवं भावनाहरु पूर्वाग्रह नराखी गोपनियताका साथ सुनिदिने उपयुक्त वातावरण निर्माण भएको खण्डमा यस्ता आत्महत्याको जोखिम घटाउनलाई सहयोग पुग्दछ ।’

कार्यक्रममा आत्महत्या भनेको के हो, बढि जोखिममा को पर्दछन् ? चेतवानीका संकेतहरु के के हुन् ? कसरी सहयोग गर्ने लगायतका विषयमा जानकारी दिइएको थियो । आत्महत्याको सोच विचार, योजना बनाएका वा प्रयास गरेका व्यक्तिसँग कुरा गर्दा गर्न हुने र नहुने विषयहरुका बारेमा पनि जानकारी दिइएको थियो ।


आत्महत्याको सोंच, रोकथामका लागि मानसिक र मनोसामाजिक सुस्वास्थ्यलाई दिइनु पर्ने प्राथमिकता, आत्महानी र आत्महत्याको लागि जोखिम समूह, आत्महानी र आत्महत्याको कारण तथा व्यवहार बढाउने तत्वहरु, आत्महत्याको जोखिम र खतराका सूचकहरु, आत्महत्याको जोखिमको न्यूनीकरण गर्न सक्ने सुरक्षात्मक उपायहरु र आत्महत्या सम्बन्धि भ्रम र यर्थाथका बारेमा कोशिश संस्थाका अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले पनि सहजीकरण गर्नुभएको थियो ।

पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक वडासदस्य बसुन्धरा लामिछानेले गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै वडाध्यक्ष आचार्यले यस्ता अभिमूखीकरण कार्यक्रमहरुको आवश्यकता हरेक वडा–वडा र टोल–टोलमा भएकोले स्थानीय निकायले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला