
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सुनाखरी पदयात्रा हुने भएको छ ।
पञ्चासेको पर्यापर्यटन प्रबद्र्धन, ग्रामीण होमस्टेको प्रचारप्रसार एबं सुनाखरी लगायत जैबिक विविधता संवर्धनको सन्देश दिने हेतुले उक्त पदयात्रा आयोजना हुन लागेको हो ।
पञ्चासे क्षेत्रको ५७०० हेक्टर बनजङ्गलमा पाईने १४७ प्रजातीको सुनाखरीलगायत जैबिक बिविधताको प्रचार र संरक्षणको सन्देश दिनु कार्यक्रमको मूल उद्देश्य रहने आयोजकले बताएको छ ।
पञ्चासेको पदमार्ग पर्यटन र ग्रामीण पर्यटनको महत्त्व उजागर गर्ने अभिप्रायले आयोजना गरिएको पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरुवात हुने जनाईएको छ ।
साथै पञ्चासे क्षेत्र पर्यावरण र पर्यापर्यटन अध्ययनको खुला बिश्वबिद्धालय रहेको सन्देश दिँदै पदयात्रा मार्फत हजारौं आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आह्वान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताउनुभयो ।
सोही दिन प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको पञ्चासेको छाँयाचित्रका रुपमा रहेको पञ्चासे जैबिक बिबिधता पार्क समुद्घाटन समेत गरिने कार्यक्रम आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ ।
पर्यावरणमैत्री ढंगले निर्माण गरिएको सो पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।