महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २७ चैत्र । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो ।

शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।” शौचालय कुनै पनि सुविधा सम्पन्न होटेलको बराबर हुने प्रमुख आचार्यले बताउनुभयो ।

उहाँका अनुसार शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ भने, त्यो टिपिकल नेपाली शैलीको हुनेछ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो । शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी काम अगाडी बढाउन निर्देशन पनि दिनुभयो । नजिकै चोकमा हाइमास्ट लाइट समेत जडान भैसकेका रातिको समयमा पनि काम गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

पोखराको पर्यटन प्रवद्र्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।

एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवद्र्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफूहरूको पूर्व प्रतिबद्धता अनुसार जनताका सामु गरिएको बाचा पुरा गर्न लागिएको बताउनुभयो । चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पुरा गर्नु निर्वाचित जनप्रतिनिधिको कार्यभार भएको भन्दै अव एक एक गर्दै ती प्रतिवद्धताहरु पुरा गर्दै जाने विश्वास दिलाउनुभयो ।

एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो । एनआरएनए मुलुकको विकास र समृद्धिमा सारथि बन्न चाहेको बताउँदै उहाँले विदेशमा बगाएको नेपालीहरूको पसिनाको मूल्य पोखराको सार्वजनिक शौचालयमा लगानी गर्न लागिएको उहाँले बताउनुभयो ।

महेन्द्रपुलको उत्तर तर्फ रहेको कि।न।८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ ।

करिब १ करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ ।

पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।

महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ ।

त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला