तालचोक–बेगनास सडक–खण्डको शिलान्यास

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वल्र्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।

निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिनुभयो ।
“तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भन्नुभयो ।

आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गरिने उहाँले अठोट व्यक्त गर्नुभयो । तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै उहाँले यसका कुनै वाहाना बाजी नचल्ने उहाँले प्रस्ट पार्नुभयो ।
“२०८१ साल चैत्र २६ गते हामीले यो बाटोको उद्घाटन गर्नेछौँ, प्रमुख आचार्यले भन्नुभयो, किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनु हुनेछैन, कन्ट्याक्टर र कन्सल्टेन्ट कसैले पनि, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन ।” पैसाका कारण काम नरोकिने भन्दै उहाँले गुणस्तरीय निर्माणमा जोड दिनुभयो ।

निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । “तोकिए कै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौँ” भुसालले भन्नुभयो । स्थानीयको सहयोग विना कुनै पनि योजना सम्पन्न गर्न नसकिने भन्दै भुसालले यस परियोजनामा पनि स्थानीयको सकारात्मक सहयोग हुनु पर्ने बताउनुभयो ।

परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले लामो समयदेखि योजना अलपत्र पर्दा स्थानीयहरूले निकै सास्ती खेप्नु परेको भन्दै अव यसलाई तोकिए कै समय भित्र नै सम्पन्न गरी विद्यमान समस्याको समाधान गरिने विश्वास दिलाउनुभयो ।
वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताउँदै उहाँले निर्माणको क्रममा कुनै समस्याहरू आए साझा रूपमा समाधान गरिनु पर्ने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सडकको स्तरोन्नति सँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिनुभयो । “चार लेनको सडक बन्दै गर्दा बेगनासमा एउटा व्यवस्थित बसपार्कको पनि आवश्यकतालाई नजरअन्दाज गर्न मिल्दैन ।” उहाँले भन्नुभयो ।

यस परियोजनामा वल्र्ड बैङ्कले रु१ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ । ३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् ।

सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।

सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३।९४ रुपैयाँमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भैसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला