
काठमाडौं, १३ चैत । महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनाम खेल्ने भएको छ ।
नेपाल र भियतनाम बीचको खेल यहि चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।
यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर उनीहरुले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनाम बीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।
यो समूहको विजेता टोली दोश्रो चरणमा पुग्ने छ ।
एशियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन् ।
माथिल्लो वरीयताका उत्तरकोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया सिधै दोश्रो चरणमा पुगिसकेका छन् ।
यी ५ टिम सहित ७ वटा समूहका विजेता गरी १२ टिमलाई दोश्रो चरणमा ३ समूहमा विभाजन गरिने छ ।
ती समूहका विजेता र उत्कृष्ट उपविजेताबिच फेरि तेस्रो चरणको खेल हुने छ र एशियाबाट २ वटा महिला टिमले ओलम्पिक खेल्न पाउने छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने जानकारी दिएको छ ।
प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्टस प्रालिलाई दिइसकेको पनि एन्फाले जनाएको छ ।