रानी महलको झल्को दिन पोखरामा ‘पाल्पा हाउस’ सञ्चालन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत ८ । पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशको प्रमुख पर्यटकीय स्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीस्थल तानसेनलाई जोड्न पाल्पा हाउस प्रालिद्वारा पोखरा ९ न्यूरोडमा रानीमहलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण गरी संचालन गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो ।

पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले १० गते शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर) सन्तोषलाल श्रेष्ठको संयुक्त बाहुलीबाट समुद्घाटन गर्ने तय भएको छ ।

मायाको प्रतीक रानी महलको बनोटमा सेतो र निलो रङ्गको कम्विनेसनमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ ।
अध्यक्ष घिमिरेले दुई तले भवनमा १७ वटा सटर रहेको जानकारी दिदैं सबै सटरमा पाल्पा र पोखराको पहिचान बोकेका छुट्टाछुट्टै सामानहरुको स्टल रहने बताउनुभयो ।

पाल्पा र पोखराका मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानका रुपमा रहेका वस्तुहरु बिक्री वितरणका लागि राखिनेछन् ।
उहाँका अनुसार ‘पाल्पा हाउस’मा पाल्पाको चिनारीका रुपमा रहेको पाल्पाली करुवा, पाल्पाली ढाकासहितका सामानहरु रहेको स्टल रहेका छन् भने पोखराको पहिचान बोकेको पोखरेली जेठोबुढो चामल लगायतका वस्तुहरुका स्टल राखिएका छन् ।

पाल्पा हाउस भित्रै पाल्पामा उत्पादन भएका फलफूल तथा तरकारीहरु बिक्रीका लागि कृषि बजारसमेत रहने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँले पाल्पाका उत्पादक र पोखरेली उपभोक्तालाई जोड्ने उद्देश्यले कृषि बजार राखेको बताउनुभयो ।

अध्यक्ष घिमिरेले ‘पाल्पा हाउस’मा पाल्पाली स्वाद दिनेगरी एउटा रेष्टुरेण्टसमेत सञ्चालन गरिने जानकारी दिनुभयो । पाल्पाली चर्चित परिकारहरु चुकाउनी, बटुक, मिसमास, छोयला लगायतको स्वाद लिन पाईने उहाँको भनाई छ ।

‘पाल्पा हाउस’ सञ्चालनको उद्देश्य पाल्पा र कास्कीका उत्पादनको प्रवद्र्धन गर्नु रहेको अध्यक्ष बताउदैं घिमिरेले जन्मथलो पाल्पा भएपनि कास्की कर्मथलो भएकोले दुबैप्रति उत्तिकै माया र महत्व रहेकोले दुबै ठाउँ र यहाँका उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले पाल्पाको करुवा र ढाकालाई पोखरामा बजारीकरण गर्ने तथा पोखरेली जेठोबुढो धानलाई पोखराको कोशेलीको रुपमा ब्राण्डिङ गर्ने आफूहरुको योजना रहेको बताउनुभयो ।

उद्घाटनको अवसरमा बैशाख पहिलो हप्तासम्म ‘पाल्पा हाउस’का हरेक सामानको खरिदमा १० प्रतिशत छुट दिईने जनाइएको छ ।

प्रचारप्रसार संयोजक बिजय नेपालले पाल्पाली समाज पोखराले ‘पाल्पा हाउस’बाहेक पाल्पाली कोलोनी निर्माण तथा पाल्पाली बहुउद्देश्यीय सहकारी सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला