मध्यपहाडी लोकमार्गले बेघर बनाउन खोजेको भन्दै पोखरा–१६ का स्थानीयहरु आन्दोलित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय गौरवको आयोजना भनि नामाकरण गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा महानगरपालिका वडा नम्बर १६ खण्डमा अनुपयुक्त भएको भन्दै त्यस क्षेत्रका स्थानीयबासीहरु पूनः आन्दोलित बनेका छन् ।

पोखरा–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले कुनै जानकारी नगराई हचुवाको भरमा उक्त लोकमार्ग पोखरा ल्याउनको लागि बदमासी गरेको भन्दै स्थानीयबासीहरु आन्दोलित बनेका हुन् ।

तत्कालीन वडाध्यक्ष आचार्यले २०७८ जेष्ठ ५ गते यस क्षेत्रमा पर्ने सो आयोजनाका लागि आवश्यक पर्ने अर्मलाकोटदेखि याम्दीसम्मको जग्गामा कुनै विवाद नभएको, मुआब्जा दिन नपर्ने, क्षतिपूर्ति पनि न्यून हुने भनि वडाका स्थानीयबासीहरुको सहमति भएकाले राजमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया बढाउन भनि झुटा व्यहोरा जनाउँदै यस राजमार्गका सडक योजना कार्यालय पर्वतमा सिफारिस गरेको बताउँदै उनीहरुले आक्रोस पोखेका छन् ।

त्यहाँका वडाबासीहरुले मादि गाउँपालिकाको भैंसे–ज्याम्दु,–मेलबोट–पानीघाट–अर्मलाकोट–कालीखोला पुल, महेन्द्र गुफा, चमेरा गुफा, अर्मला, बिसौनी, लामाचौर, जौबारी, याम्दी पुलसम्म मध्यपाहाडी राजमार्ग जाने भन्ने विषयमा २०७९ भाद्र १४ गते पत्रिकामा टेण्डर आव्हान भएको सूचना प्रकाशन भएपछि मात्र थाहा पाएको बताएका छन् ।

अध्ययन नै नगरी र सोधखोज विना नै भौगोलिक अवस्था कमजोर भएको ठाउँमा राजमार्ग बनाउने निर्णय गर्नु उपयुक्त नभएको पीडित संघर्ष समितिका सचिव सन्दीप थापाले जानकारी दिनुभएको छ ।

थापाका अनुसार यस राजमार्ग निर्माणमा सम्बन्धीत सरोकारवालाहरुको भेला नै नबोलाईकन र कुनै जानकारी नदिई फिल्डमा ननापी एउटा कोठामा बसी व्यक्तिका जग्गा माथि नक्साङ्कन गरिएर घना बस्ती भएका ठाउँमा राजमार्ग ल्याईएको र स्थानीयबासीलाई उठिबास लगाउने गरी गरिएको सर्भेलाई सच्याउनुपर्ने बताउनुभयो ।

यस राजमार्ग आयोजनाले काम गर्ने सम्बन्धमा टेण्डर आव्हान गर्नुभन्दा पहिले प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (OcfOP ) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा प्रस्तावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न महानगरपालिका, गाउँपालिका र यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्तिहरुसँग राय सुझाव नलिइएको उहाँले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग बनेको खण्डमा सो क्षेत्रका करीब ३ सय घर परिवार प्रभावित हुने दाबी आन्दोलितहरुले गरेका छन् । पहिले ८ मिटरको बाटो बन्ने भनेर सुनेका स्थानियले अहिले ३० मिटरको मापदण्ड भनेर आयोजनाले सार्वजनिक सूचना निकालेपछि संघर्ष समिति नै बनाएर आन्दोलनमा होमिएका छन् ।

उनीहरु एक सातादेखि १० बजेदेखि १२ बजेसम्म दैनिक दुई घण्टा वडा कार्यालय पोखरा–१६ अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । बुधबारदेखि भने पूर्वाह्न १० बजेदेखि दिउँसो १ः३० बजेसम्म दैनिक साढे तीन घण्टा धर्ना दिईने संघर्ष समितिका संयोजक गोविन्दबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै विहीबार उक्त राजमार्गको पर्वत शाखा कार्यालयमा दिउँसो ३ बजे ताला लगाउने कार्यक्रम रहेको उनले बताएका छन् । संघर्ष समितिका संयोजक बस्नेतले स्थानियलाई सुकुम्बासी बनाउनेगरी निर्माण गरिन लागेकाले आफूहरु बाध्य भएर आन्दोलनमा होमिएको बताउनुभयो ।

यस्तै पोखरा–१६ का वर्तमान वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिना पनि तत्कालीन वडाध्यक्ष आचार्यले स्थानियसँग छलफल नगरी बाटो निर्माण गर्न सहमति दिनु गल्ती भएको बताउनुभयो । यसमा पुनरावलोकन हुनुपर्ने बताउँदै उहाँले यसका लागि आफुले प्रयास गरिरहेको जनाउनुभयो ।

उहाँका अनुसार आफुहरुले भनेर मात्र तत्काल निर्णय नबदलिने भन्दै यसका लागि सबैको सहमति र महानगरको सिफारिसमा संघ सरकारको मन्त्री परिषद् बैठकले मात्र निकास दिन सक्ने बताउनुभयो ।

यस पुष्पलाल मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्गको सर्भे झण्डै डेढ दशक अघि गरिएको हो । २०७२ सालमा गरिएको डिपिआरमा २६ कि.मी.( विजयपुरदेखि अमलाविसौनी हुँदै याम्दी पुलसम्म ) अधिकांश सडक खण्ड जोडिएको रुट थियो ।

त्यस्तै नयाँ सर्भे अनुसार अहिले यस राजमार्ग ३५.५ कि.मी.को लामो हुनेभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला