
पोखरा । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताउदैं भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
मेयर आचार्यले पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित गर्ने भन्दै आगामी दिनमा पत्रकारले प्रयोग गर्ने भाषाहरु थप व्यावहारिक बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिदै भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।