राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ ।
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोली बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।
नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा (एमाल)का तर्फबाट उपाध्यक्ष नेम्वाङ राष्ट्रपति पदमा उम्मेदवार हुनुहुन्छ ।
बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

निर्वाचन अधिकृत शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।

सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ ।

निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजनाको कर्मचारीको टोली खटिनेछ ।

समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौँ आइपुगिसक्नु भएको छ ।
मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला