
काठमाडौं ।
नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशको डकुमेन्ट्री युट्युबमा रिलिज गरिएको छ ।
यसै महिना युएईको दुबईमा आयोजना भएको नेपाल सिनेमा फेस्टको क्रममा चलचित्र विकास बोर्डले डकुमेन्ट्रीको प्रिमियर गरिएको थियो ।
९ मिनेट ५२ सेकेन्ड अवधिको डकुमेन्ट्रीमा गण्डकी प्रदेश अन्तर्गत पर्ने विभिन्न रमणीय स्थानहरु समेटिएको कारणले विश्वकै ध्यान खिच्न सक्ने विश्वास गरिएको छ ।
सुयोग गुरुङको निर्देशनमा रहेको डकुमेन्ट्री अंग्रेजी अडियो भाषामा रहेको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले सातै प्रदेशमा रहेका छायांकन स्थललाई समेटेर श्रव्यदृश्य सामाग्री बनाइने जानकारी दिनुभयो ।
उहाँले यस प्रकृतिका सामाग्रीलाई बोर्डले निरन्तर बनाउँदै लैजाने र नेपाललाई अन्तराष्ट्रिय फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले यसलाई बनाइएको बताउनुभयो ।
केसीले अन्य ६ प्रदेशका सम्भावित छायांकन क्षेत्रहरुलाई पनि समेटेर डकुमेन्ट्री निर्माण गर्दै जाने बताउनुभयो ।
बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले नेपालमा विश्वका ठूला उद्योगका फिल्महरुको छायांकन हुँदै आएकोमा त्यसलाई संख्यात्मक वृद्धि गर्ने उद्देश्यस्वरुप प्रवद्र्धनात्मक सामग्रीहरु बोर्डले निरन्तर प्रकाशन र निर्माण गर्दै जाने जानकारी दिनुभयो ।
नेपालमा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुसार बोर्डले काम गरिरहेको सूचना अधिकारी चिरञ्जीवि गुरागाईंले बताउनुभयो ।
२०७६ सालमा नेपाललाई छायांकन स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्य सहित बोर्डले ‘फिल्मिङ् इन नेपाल स् भोल्यूम १’ पुस्तक पनि प्रकाशन गरिसकेको छ ।
गतसाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालमा फिल्म पर्यटनको विकास गर्न सरकार गम्भीर रहेको बताउनुभएको थियो ।