काठमाडौं, २४ माघ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबलस् अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् ।
निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएका छन् । यसअघि चलचित्रमा अभिनेता सौगात मल्ल पनि अनुबन्धित हुनुभएको थियो ।
निर्देशक सौरभले नै चलचित्रको कथा लेख्नुभएको हो । दुई च्याप्टरमा निर्माण हुने चलचित्रमा उहाँले दुवै च्याप्टरको कथा तयार पारिसक्नुभएको छ । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गर्नुहुनेछ ।