
पोखरा, माघ २२ । पोखराको काहुँडाँडाको पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ ।
जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ ।
महोत्सव संयोजक देवबहादुर गुरुङले प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले महोत्सवमार्फत् ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास गर्ने सकिने बताउनुभयो ।
काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्ष समेत रहनुभएको गुरुङले बताउनुभयो । महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको धारणा छ ।
महोत्सवले काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धि हुनुका साथै जनस्तरको आर्थिक विकासमा सहयोग पुर्याउने उहाँको विश्वास छ ।
महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५२ लाखको कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सवको आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहय विद्यार्थीलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।
पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । करीब २ हजार २०० घरधुरी र १५ हजार जनसंख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राह्मण, क्षेत्री, गुरुङ, मगर र दलितहरूको बसोबास रहेको छ ।
यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि विक्रम संवत् २०६२ र २०७५ सालमा काँहु धरहरा महोत्सव आयोजना गरिएको थियो ।
पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र हो ।