
काठमाडौँ ।
चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुग्नुभएको छ ।
चितवन २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आइतबार निर्वाचन आयोग पुग्नुभएको हो ।
माघ १३ मा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।
रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छ ।
जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस भनेर आयोगमा आफू गएको उहाँले बताउनुभयो ।
श्रेष्ठले ‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो । काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो,’ भन्नुभयो ।
श्रेष्ठले ‘त्यतिखेर निर्णय भएको भए रवि लामिछाने उम्मेदवार बन्नु हुने थिएन । उहाँ उपप्रधानमन्त्री भएको मान्छे ‘बेस लेभल’ मा जानुर्पयो । म पनि अन्यायमा परें । उहाँको उम्मेदवारीबारे पहिला नै किटान गरेको भए राष्ट्रको पैसा खर्च हुँदैन थियो।’ भन्नुभयो ।
निर्वाचन आयोगले भने रिक्त भएको चितवन(२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार उक्त क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो ।
थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताउनुभयो ।
चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहनुभएको थियो ।