अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ माघ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए ।

पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८ को टिमलाई ३–० को सोझो सेटमा हराउँदै वडा नम्बर २३ दुवैतर्फ प्रथम भएको हो । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा नम्बर २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा नम्बर २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए ।

वडा नम्बर १६ का विजय सुनारले प्रतियतोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाए । महिलातर्फ वडा नम्बर २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सबिना पौडेल उत्कृष्ट डिफेन्डर र वडा नम्बर १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए ।

वडा नम्बर २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् ।
पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए ।
प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ । फरकफरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ दुई र महिलातर्फ एक टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।

यसरी बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताउनुभयो । भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उहाँको भनाइ थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला