
पोखरा । भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा हुनुभएको छ ।
आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता हुनुभएको हो ।
लामासँग हर्ष सिकन्दर फस्र्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भएका छन् ।
ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन मिश्रा, जेतशिन लामा तथा न्यानेश्वरी घाडगेले दमदार प्रस्तुति दिएका थिए ।
पछिल्लो तीन महिनादेखि सारेगामापा टेलिभिजनमा एक लोकप्रिय रियालिटी शो रहेको छ ।
गायन कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिइरहेको छ । फाईनलमा प्रतियोगीहरू मात्र होइन निर्णायकहरू नीति मोहन र शंकर महादेवनले पनि आफ्ना गीतहरूको मेडलेमा आकर्षक प्रस्तुति दिएर सबैलाई मंत्रमुग्ध बनाएका थिए ।