शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालय वरपाण्डेथुम कैलास कास्कीको ६३ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ मंगलवार सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सव ,अभिभावक दिवस तथा नवनिर्मित चारकोठे भवनकोे समेत एक समारोह वीच उद्घाटन गर्दै प्रतिनिधिसभामा कास्की क्ष्ोत्र नं २ की सांसद विद्या भट्टराई अधिकारीले विद्यार्थीको सिर्जनशीलता जागृत गराउँदै संख्या भन्दा पनि गुणस्तरका लागि चिन्ता हुनुपर्नेमा जोड दिनुभयो ।

कास्की दक्षिणभेगकै शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको यस विद्यालयको गरिमा र महत्वलाई आत्मसात गर्दै पूर्वाधार विकासका साथै शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राख्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रमका अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शान्ति उदय पूर्व विद्यार्थी मञ्च कक्षको उद्घाटन गर्दै मञ्चले विद्यालयको विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।
हाल मोति भुजेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहेको पूर्व विद्यार्थी मञ्च सकृय रहेको छ ।

सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले विद्यालय परिसरमा सरस्वती मन्दिरको शिलान्यास गर्नुभएको थियो ।
विद्यालयका विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्धेश्यले शैक्षिक प्रदर्शनी समेत सम्पन्न भएको छ ।
शिक्षकहरु महेश चन्द र दुर्गाबहादुर थापाको सकृयतामा विद्यार्थीहरूले गरेको प्रदर्शनी अवलोकन गर्दै मौलिक सिर्जनालाई महत्व दिन तथा व्यवहारिक ज्ञान र त्यसको शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउन यस किसिमको शैक्षिक प्रदर्शनीको ठूलो महत्व रहेकामा बक्ताहरुले जोड दिएका थिए ।

विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिने गरी प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले स्थापनाको ६३ औं वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको बताउँदै सुविधा सम्पन्न ई लाइब्रेरीको व्यवस्था गरिएको ,कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–कृयाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरिएको वताउनुभयो ।


विद्यालयका प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्था बारे प्रकाश पारेको उक्त कार्यक्रममा कास्की क्ष्ोत्र नं २ क काट निर्वाचित गण्डकी प्रदेशका सांसद भीम कार्की, विद्यालयका पूर्व विद्यार्थी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनोहर आचार्य, महानगर शिक्षा अधिकृत सोमनाथ भण्डारी, साविक भरतपोखरीका पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारी , पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी,भूपू विद्यार्थी मञ्चका सचिव वसन्त लम्साल ,सदस्य सजना ढुंगाना, शिक्षक राजेन्द्र बस्ताकोटी ,देवराज शर्मा लगायतले विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिका बारे चर्चा गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा विविध सास्कृतिक प्रस्तुतिका साथमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति वितरण समेत गरिएका थिए ।
कास्की दक्षिण भेगमा यस क्षेत्रका दूरदर्शी शिक्षाप्रेमीको सकृयतामा वि.सं २०१६ सालमा कैलास प्रा. वि.को नामबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो ।
वि.सं. २०२४ सालदेखि शान्ति उदय मा.वि.का नाममा सञ्चालन भएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११ र १२ का कक्षा समेत सञ्चालन हुँदै आएका छन् ।
शान्ति उदय मा.वि.बाट उत्पादित जनशक्ति देशको समाजिक, आर्थिक एवम्् राजनीतिक लगायतका क्षेत्रमा उच्च ओहोदामा पुगिसकेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला