पत्रकार थापाद्धारा पुरस्कार मानवसेवा आश्रमलाई प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पत्रकार थापाले आइतबार आश्रममा नै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु ११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभएको हो ।

मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताउनुभयो ।
थापाले ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भने, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवद्र्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ भन्नुभयो ।
मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताउनुभयो ।

पत्रकार थापाले कयौँ अभावका अँध्यारा दिनहरूको सामना गरेर अगाडी बढेका सञ्चारकर्र्मीहरूको दिल भित्र पनि मानवताको विशाल भावना हुन्छ भन्ने कुराको सुरुवात मात्र होइन ठुलो सिकाइका रूपमा यसलाई आफूले लिएको बताउनुभयो ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताउनुभयो । उहाँले एक जना श्रमजीवीको समाज प्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताउनुभयो ।

कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताउदैं पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको र असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताउदैं पत्रकार थापाले सुरु गरेको असल संस्कारको निरन्तरतामा जोड दिनुभयो ।
सो क्रममा पूर्व अध्यक्ष नापितले नगद रु १ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराउनुभयो ।


आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवद्र्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताउदैं पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको जनाउनुभयो । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उहाँले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताउनुभयो ।

पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गर्नुभएको थियो । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला