पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, निजगढ विमानस्थल निर्माण छिट्टै शुरु गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस १७ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार आजदेखि शुभारम्भ भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै शुरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउदै मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको बताए ।
प्रधानमन्त्री दाहालले यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको बताउदैं पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको जनाए ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गर्दै पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुने उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने बताए ।

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै उनको प्रशंसा गरे ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउदैं मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पौडेलले राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व, विकास, समृद्धी र सुशासन आजको आवश्यकता भएकोे बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्दै चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरे ।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो ।
मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताउदैं सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । वि.सं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो भने विसं २०७४ देखि निर्माण शुरु भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला