
पोखरा ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।
ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक÷एक खेल खेलिसकेका छन् ।
आज समूह ए र समूह बीका दुई÷दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए ।
आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।
आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ ।
यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्नो दोस्रो खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ ।
समूह ए कै नेदरल्याण्ड्स र इक्वेडर लगातार दोस्रो जितको लक्ष्यसहित राति पौने १० बजे प्रतिस्पर्धामा उत्रिनेछन् ।
यसैगरी मध्यराति पौने १ बजे इंग्ल्याण्डले अमेरिकासँग खेल्दैछ । यो खेल अल बायत स्टेडियममा हुनेछ ।