“अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” -प्राज्ञ नगेन सिहं ठकुरी, सभापति उमेदवार, नेपाली कांग्रेस

नगेन न्यूज
  • ख-
  • ख+

नेपाली काँग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गएको देखिन्छ ।
त्यसैले मतदाताहरुलाई आफू तिर तानातान गर्दै गईरहेको काँग्रेसभित्र रहेको गुटउपगुटबीच तालमेल तथा लन्च मिटिङ्गको पनि निकै चर्चा भईरहेको समयमा हाल बर्तमान अबस्थामा सोसल मिडिया कै भरमा जीत पक्का गरेका नेपाली कांग्रेस, कास्की जिल्ला समितिको सभापति उमेदवार प्राज्ञ नगेन सिहं ठकुरीसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अंशः

० नेपाली कांग्रेसको चौधौं महाधिवशेन नजिकिँदै छ, तपाईं कास्की जिल्लाको नेतृत्वमा जाने हल्ला छ के यो सत्य हो ?
धन्यवाद, हरेक ५र५ बर्षमा महाधिवेशन आउँछ र अहिले चौथौं महाधिवेशनमार्फत बिश्वब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा हामी क्रियाशिल छौं । पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवद्र्धन गर्नुपर्छ भन्ने सोचमा हामी छौं । निःसन्देह नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण छ । कास्की जिल्लाको नेतृत्वको कुरा गर्दा नजिकिँदै गरेको चौधौं महाधिवेशनमा पनि मेरो विषयमा निकै चासो र चर्चा साथीहरुबीचमा भइरहेको मैले सुनिरहेको छु । म साथीहरुको चाहना र इच्छा बमोजिम राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे हुँ । कास्की जिल्लाको संगठनलाई राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वमा आउन मेरो पनि इच्छा अवश्य छ ।
० नेतृत्वमा आउन कार्यकर्तामाझ के कस्ता एजेन्डाहरु लिएर आउनुभएको छ ?
अब कांग्रेस बचाएर देश बनाउने हो भने ४० बर्ष मुनिकालाई १००% बडा समितिमा, ९०% नगररगाउँ पालिकामा, ८०% क्षेत्रीय प्रतिनिधिमा अनिवार्य उपस्थित गराएर पार्टीलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्ने मेरो पहिलो मुख्य एजेण्डा हो । संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका साथीहरुलाई प्रशिक्षित र प्रभावशाली बनाउनु अर्को एजेन्डा हो । जनताको विषयबस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यक विषय छ । त्यसो हुँदा हामीले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नारा तय गरेका छौ ।
० तपाईंको कास्की कांग्रेसको नेतृत्व हाँक्ने अंक गणितीय आधारहरु के के छन ?
पहिलो कुरा त नेपाली कांग्रेसलाई निकै लामो समयदेखि नेतृत्व गर्दै पार्टीलाई यो ठाउँसम्म ल्याई पुर्याउने अग्रज नेताहरुले सहयोग गर्नुहुने छ भन्ने हाम्रो अपेक्षा छ । दोस्रो कुरा पार्टीलाई अत्याधुनिक परिवर्तन गर्नुपर्छ, जनताको सबैभन्दा ठुलो पार्टी बनाउनुपर्छ भन्ने ठूलो तप्का साथीहरुबाट मैले सहयोग प्राप्त गर्नेछु । राजनीतिमा आफ्नो जीवन अर्पण गर्ने त्यागलाई राजनीतिको साधन बनाउने सम्पूर्ण राजनीतिक व्यक्तित्वहरुबाट मलाई सहयोग गर्ने प्रतिबद्धता मैले देखिरहेको छु । युवा,महिला, श्रमिक, बुद्धिजिवि, व्यवसायिक साथीहरुले पनि नेपाली कांग्रेसलाई अत्याधुनिक बैज्ञानिक कार्यशैलीबाट अगाडि बढाउनुपर्छ भन्ने आवाज आइरहेको छ । त्यसको लागि म उपयुक्त पात्र हुँ भन्ने मलाई लाग्छ । त्यसो हुँदा मलाई सहयोग हुने मलाई विश्वास छ । समग्रमा भन्नुपर्दा राजनीतिक अंक गणितलाई मनन गर्दा कास्की जिल्लाको तिनवटै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि साथीहरुबाट मैले आवश्यक मत अवश्य प्राप्त गर्छु किनकि उहाँहरूको मन देखि चाहना भएको उमेदवार मनै हु भन्ने मेरो आत्मविश्वास छ ।
० कास्की जिल्लामा तपाईंलाई कुन लाइनको सभापतिको रुपमा चिनाउनु हुन्छ ?
महामानब बिपी कोईराला लाईनको । म नेपाली कांग्रेसको सदस्य हुँ । नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा म अडिग छु । नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कम्जोर बनाउँदै लगिरहेको हामी सबैलाई महसुस छ । यद्यपि नेपालका सबै पार्टीहरुमा यो समस्याले गाँजिरहेको छ, हामी सबैले देखिरहेका छौं । यो समस्याबाट नेपाल कांग्रेसलाई कसरी मुक्त गर्ने मेरो चिन्तन त्यतातर्फ छ । म कुनै लाइन विशेषको उम्मेदवार भन्दा पनि म सबैको उम्मेदवार, कार्यकर्ताहरुको उम्मेदवार सबै पक्षलाई सम्मान गर्ने उम्मेदवारको रुपमा सिँगो पार्टीको सभापतिको रुपमा अगाडि बढ्न चाहन्छु । साथीहरुको सद्भाव लिने काम निःशन्देह हुन्छ । मेरो उम्मेदवारीले कास्कीमा पार्टी भित्रका सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्ने अवस्था सिर्जना हुनेछ र अब सबै महामानब बिपी कोईरालाको लाईनमा हुनुपर्छ र नेपाल कांग्रेसका साथ साथै सम्पूर्ण जिल्ला बासिको बिकास निर्माण हुनेछ ।
० कार्यकर्ताहरुले त पार्टीलाई एक ढिक्का बनाउने नेतालाई खोजिरहेका छन् के तपाईं यसमा पर्नुहुन्छ ?
कार्यकताहरुले पार्टी एक ढिका बनाउने नेता भन्दा पनि देश बनाउने राजनेता खोजिरहेको जस्तो मलाई लाग्दछ ।
आशन्न १४ औं महाधिवेशनमा धेरै नेता साथीहरुले नेतृत्व लिनका लागि आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ । संघर्ष, दुःख र लामो समयदेखि पार्टीमा रहेर काम गरिरहनुभएका नेता साथीहरुले नेतृत्व खोज्नु अन्यथा होइन । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । सबै नेता साथीहरुका आ—आफ्ना विशेषता छन् । यसमा पार्टीलाई एकढिक्का सिंगो पार्टीको रुपमा अगाडि बढाउनका लागि यतिखेर सबभन्दा उपयक्त पात्र म नै हुँ भन्ने मलाई लाग्छ । म सबै नेता, कार्यकर्ता, शुभचिन्तक साथीहरुलाई समान व्यवहारका साथ पार्टीलाई अगाडि बढाउनका लागि काम गर्न सक्दछु भन्ने मेरो विश्वास हो । सायद कास्की जिल्लाका साथीहरुले यही कुरालाई मनन गरेर मेरो विषयमा यतिविघ्न चर्चा परिचर्चा गरिरहेको हो भन्ने मलाई लाग्छ । र, म कसैले तानेर नेता भएको व्यक्ति होइन, ग्रासरुटदेखि नेविसंघमा स्कुल, क्याम्पसमा नेतृत्व गर्दै नेविसंघको केन्द्रीय सभापतिको उम्मेदवार भएको व्यक्ति हुँ । स्ववियु चुनावमा जस्ले मोनोनयन दर्ता गर्छ उ मर्छ भन्दा दर्ता गरेर कम्युनिष्टहरुले पटकपटक सांघातिक हमला गरेर अपहरण गरि मार्नै खोजेको व्यक्ती हुँ । त्यसबाट कत्तिपनि विचलित नभएर निरन्तररुपमा पार्टी संगठनलाई राजनीतिक रुपमा, बैचारिक रुपमा र सांगठानिक रुपमा माथि उठाउन व्यक्तिगत दुःख पीडा भूलेर काम गरिहेको छु । हामी जस्ता पढेलेखेका तर पार्टीको लागि भनेर बिदेश नगै जागिर नखाई संगठन गरेको तर देश उगो नलागेकोले नेतृत्वलाई दोष लगाउनु भन्दा अब हामी नै अगाडि बढनुको बिकल्प नभएको महशुस गरि “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं ।” नाराका साथ हाम्रो उमेदवारी हो ।
० तपाई आफै ४० कटेको फेरि ४० बर्ष मुनिकालाई लिएर पहिलो मुख्य एडेण्डा लिएर आउनुभएको छ किन ?
नीतिहरूको राजानै राजनीति हो । राजनीति आफ्नो लागि गरिए कुनीति, लाजनीति र पतननीति हुन्छ । संसारको त होईन नेपालको पनि कुरै छाडौ नेपाली कांग्रेसको कुरामात्र गर्ने हो भने बिपी कोईराला ३३ बर्षमा कार्यबाहक सभापति हुदै ३९ बर्षमा सभापति भैसकेको हुनुहुन्थ्यो । २७ बर्षमा कृष्ण प्रसाद भट्टराई सभामुख भै ३७÷३८ मा कार्यबाहक सभापति, ३४ बर्षमा टंक प्रसाद आचार्य सभापति, ३७ बर्षमा मात्रिका प्रसाद कोईराला सभापति, ४० बर्षमा सर्बमान्य नेता गणेशमान श्रेष्ठ पनि केन्द्रीय सभापतिको उमेदवार हुनुभएको थियो । अब तपाईं नै भन्नुस मैले किन ४० बर्ष मुनिको भनेर अब हाम्रो नाराको “अत्याधुनिक बैज्ञानिक विचार” यिनिहरूलाई बुझाउनै पर्दैन आफै बुझ्छन ,कुद्छन र देश बदल्छन ।
हामी चालिसे लागेकाको ईच्छा भनेको हाम्रो छोराछोरी,नातिनातिना र युवाहरू आफ्नै देशमा रमाएर, कमाएर र शान्तिपूर्ण रूपमा बाच्न पाउन ।
आफू मर्नेबेला छोराछोरी, बुहारी ज्वाइँ, नातिनातिना टोलछिमेकी ईष्टमित्र सबैजना साथमै होस भन्ने न हो । यसैको लागि एक पटक नेपाली कांग्रेस, कास्की जिल्ला समितिको सभापतिको उमेदवारी दिने निर्णय गरेको हु ।
० तपाईंले अन्तिममा नाम फिर्ता त लिनु हुन्न नि ?
नेविसंघको ११औ महाधिवेशनमा म केन्द्रीय अध्यक्ष लडदै गर्दा नेपाल कांग्रेस तीन गुट पनि एक आपसमा मिलेर २ गुट हुदाँ पनि मैले फिर्ता नलिएको ईतिहास छ । जसको परिणाम तत्काल मैले भोगे पनि अहिलेसम्म सबै नेविसंघ र कांग्रेसले दुख पाई रहेको छ म त्यति खेर पनि अडिक र ठिक थिए अहिले पनि किनकि आफू बन्ने भन्दा पनि आफ्नो एजेन्डा स्थापित गर्नु नै महान कार्य हो ढिलो चाडो सबैले बुझ्छन । समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनु पर्छ । अर्थात सबै एक भै भन्नू पर्छ । जय नेपाल !!!

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला