पोखरा, २६ असोज ।
कास्की क्षेत्र नम्बर २ ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मदेवारी दिनुभएको अरुण गिरीले चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । आफू सक्रिय राजनीतिमा लागेपछि पत्रकारिताको संस्थामा राजनीतिक रंग नदेखियोस् भन्ने चाहनासहित पदबाट राजीनामा दिएको गिरीले बताउनुभएको छ ।
गिरीले चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष दिनेश सिटौलालाई सम्बोधन गर्दै राजीनामा पेश गर्नुभएको हो । गिरी विगत ५ महिनायता सक्रिय रुपमा राप्रपा कास्कीको प्रवक्ताको रुपमा राजनीतिमा संलग्न हुनुहुन्छ ।
‘मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको हुदाँ चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ गिरीले राजीनामापत्रमा उल्लेख गर्नुभएको छ ।
साथै उहाँले सक्रिय रुपमा राजनीति शुरुगरेपछि तत्कालै राजीनामा दिन चाहेको उल्लेख गर्दै आफ्ना केही दायित्वहरु पुरा गर्नुपर्ने बाध्यताका कारण ढिला भएको प्रस्ट्याउनुभएको छ । उहाँले आफू राजनीतिमै सक्रिय भएपनि संस्थाप्रति सँधै उत्तरदायी रहने बताउनुभयो ।
साथै उहाँले आफू संघको अध्यक्षको रुपमा संघमा रहेर काम गरिरहँदा सहयोग गर्ने सबै पदाधिकारी तथा सदस्यहरु, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु र सरोकारवालाहरुलाई धन्यबाद समेत दिनुभयो ।
गिरीले चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षबाट राजीनामा दिएपछि आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउदै आसन्न मंसिर ४ गते हुने प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनमा राप्रपाको पक्षमा मतदान गरि आफूसहित पार्टीलाई जिताउन अपील समेत गर्नुभयो ।