मौजाबासीका समस्यालाई समाधान गर्न प्रतिबद्ध छु : मन्त्री थापा

नगेन न्यूज
  • ख-
  • ख+

भदौ २७, पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मौजाबासीका समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार पोखरा २० मौजामा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘मौजामा देखिएको सडक, सिँचाई, शिक्षा, खानेपानी लगायतका समस्यालाई समाधान गर्न म तत्पर छु । स्थानीयहरुको साथ समर्थन र सहयोगले नै विकास सम्भव छ ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले विकासमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । विकास जसले गरे पनि गाउँको भलो हुने हुँदा राजनीति गर्नुको तुक नरहेको उहाँले उल्लेख गर्नुभयो ।
एकतामा नै बल हुने हुँदा सबै मिलेर गाउँको समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । मन्त्री थापाले प्रदेश सरकार विकासको बाधक नभएको प्रष्टाउनुभयो । उहाँले स्थानीय सरकारसँग समन्वय गर्दै मौजाको समस्यालाई समाधान गर्ने बताउनुभयो ।
मन्त्री थापाले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको समेत निरिक्षण गर्नुभएको छ । उहाँले स्थानीयलाई डिपीआर तयार गर्न निर्देशन समेत दिनुभएको छ । ‘काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको अवस्था खराब रहेछ । यसको स्तरउन्नतिका लागि डिपीआर तयार गरेर आउनुहोस् । आवश्यक बजेट विनियोजन गरौंला ।’,उहाँले भन्नुभयो ।
मन्त्री थापाले मौजालाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग कास्कीका प्रवक्ता आश बहादुर गुरुङले स्थानीयको चाहानाअनुरुप नै आफुले काम गर्दै आएको बताउनुभयो । उहाँले आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई पहिलो प्राथामिकतामा राखेर जग्गा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

कास्की काँग्रेस महिला संघकी सभापति सकुन्तला गुरुङले गाउँ विकासमा सबै लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । उहाँले विकासमा विरोध नगर्न अनुरोध गर्नुभएको छ । पोखरा २० का जनप्रतिनिधि गंगामान गुरुङले मौजाको विकासमा वडा तहबाट हुन सक्ने पहल आफुले गर्ने प्रतिबद्धता व्यक्त गरे । मौजाको विकासमा प्रदेश सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने भनाई उहाँको छ ।
नेपाली काँग्रेस पोखरा २० का सभापति तिलबहादुर गुरुङले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोमा ब्रिज पुलको आवश्यकता रहेको बताउनुभयो । उहाँले मौजामा दलित बस्ती समेत भएकाले समाज घर निर्माण गर्नुपर्ने बताउनुभयो । खानेपानी, सिँचाईको समस्यालाई समेत समाधान गर्नुपर्ने तर्क उहाँको छ ।
कार्यक्रममा मौजा टोल विकास समितिका अध्यक्ष खड्कजङ्ग गुरुङ, लामडाँडा टोल विकास संस्थाका अध्यक्ष काशीराम गुरुङ, हिराजङ्ग गुरुङ लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला