पोखरा थिएटरमा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरा गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा मा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ ।
मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटरको दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतीमा तयार गरिएको नाटक असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन हुने जानकारी दिनुभयो ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दाबी गर्दै पोखरामा मञ्चन हुनु खुसीको कुरा भएको र सबै नाट्यप्रेमी हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।
नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री लगायततको अभिनय रहनेछ ।
प्रत्यक्ष सङ्गीतमा अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनुहुनेछ ।
यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गर्नुभएको छ ।
पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गर्न लागेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं ४ को सहकार्य रहेको छ ।
सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो ।
एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवको कथालाई नाटकमा चित्रण गरिएको छ ।
लेखक जोशीले विसं २०२७ मा कर्णालीमा सम्पन्न लोक संस्कृति सर्वेक्षणको क्रममा कथावस्तु सङ्कलन गर्नुभएको हो ।
जनजिब्रोमा जीवन्त कथालाई नाटकीय रुप दिइएको हो ।
एक दशकअघि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको यो नाटक नेपालका साथै भारत र बङ्गलादेशमा पनि मञ्चन भइसकेको छ ।
मण्डलाको इतिहाससँग जोडिएको नाटकले पोखरामा राम्रो साथ पाउने मण्डला नाटक समूह नेपालका अध्यक्ष सिर्जना सुब्बाले विश्वास व्यक्त गर्नुभयो ।
यो नाटक आगामी कात्तिक १८ देखि मङ्सिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौँमा मञ्चन हुने जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला