हिमाल चढ्नेको सूचीमा अमेरिकी र बेलायती बढी

नगेन न्यूज
  • ख-
  • ख+

नेपालमा हिमाल आरोहणका लागि युरोप र अमेरिकाबाट सर्वाधिक संख्यामा आरोही भित्रिएका छन् । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आरोही आएको देखिएको छ ।

तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् । जसमा सगरमाथाका लागि ३७ समूहका ३०२ जनाले अनुमति लिएको देखिएको छ । यसरी अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकाबाट २७ महिलासहित १३२ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार दोस्रो नम्बरमा बेलायती नागरिक रहेका छन् । बेलायतबाट वसन्त ऋतुमा हिमाल चढ्न १४ महिलासहित १०५ जना आरोहीले अनुमति लिएका छन् । तेस्रो नम्बरमा नेपाली आरोही छन् । नेपालबाट ६२ जना आरोहीले विभिन्न हिमालका लागि अनुमति लिएको विभागको तथ्यांकमा देखिएको छ । भारतबाट ५८ आरोही नेपाल आएको देखिएको छ ।

फ्रान्सबाट ५५, क्यानडाबाट ३४, अष्ट्रेलियाबाट २९, रुसबाट २८ जना र चीनबाट २२ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । विभागका तथ्यांक अनुसार आइतबारसम्म ७३ मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका छन् । जसमा युक्रेनबाट एक जनाको अनुमति रहेको छ । युरोपेली मुलुकमध्ये स्पेनबाट २५, नेदरल्याण्ड्सबाट १७, चेक रिपब्लिकबाट ११ जना आएका छन् ।

२५ हिमालमा चढ्दैछन् आरोही

पर्यटन विभागको तथ्यांक अनुसार आतइबारसम्म कुल २५ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । यसमा सबैभन्दा धेरै सगरमाथाका लागि आएका छन् । सगरमाथा चढ्न ३७ समूहका ३०२ जनाले अनुमति लिएका हुन् ।

दोस्रो स्थानमा ल्होत्से हिमाल आरोहणमा बढी अनुमति जारी भएको छ । यस हिमालका लागि २२ महिलासहित १०३ जनाले अनुमति लिएका छन् । अमादब्लम हिमालमा १८ महिलासहित ९७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

कञ्चनजंघाका लागि १३ महिलासहित ६८ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । गंगापूर्ण -७४५५ मि.), यूआईएए पिक-६०६३ मि. र साउला -६२३५ मि.)मा २/२ जना मात्र आरोहीले अनुमति लिएका छन् ।

क्याम्प टूमा पुगे आइससफल डाक्टर
पर्यटन विभागका निर्देशक सूर्य प्रसाद उपाध्यायका अनुसार सगरमाथा आरोहणको सहजिकरणका लागि बाटो बनाउन खटिएको विशेषज्ञ आरोहीको टोली यतिबेला ‘क्याम्प टू’मा पुगेको छ । यस्तो टोलीलाई ‘आइसफल डाक्टर’ समेत भनिन्छ । उनीहरु चुचुरोमा पुगेपछि धमाधम आरोहण हुन्छ ।

उपाध्यायका अनुसार कतिपय टोलीहरु सगरमाथाको आधार शिविर पुगिसकेका छन् भने कतिपय बाटोमा छन् । यस वर्ष सरकारले १ सय जना सम्पर्क अधिकृत खटाएको छ । आरोहण टोलीहरुसागै सम्पर्क अधिकृतसमेत हिमालतर्फ लाग्ने उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आरोहणका गतिविधिलाई केन्द्रमा उच्चस्तरीय समितिले अनुगमन गर्नेछ । लगातार दोस्रो वर्ष आरोहणमा उच्च आकर्षण देखिएको छ । सोही कारण विभागले समेत सम्पर्क अधिकृतहरुका लागि नियम जारी गरी अनिवार्य आधार शिविरमा पुग्न र आरोहण अभियान पुरा नभएसम्म नर्फकन भनेको छ । फर्कनुपर्ने भएमा वा जान नसक्ने भएमा विभागमा जानकारी गराउनु पर्ने नियम समेत तोकिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला