भारतले गण्डक बाँधका सबै ढोका खोल्यो

सुबी गुरुङ
  • ख-
  • ख+

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए।

‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो’, उनले भने, ‘नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो।’

गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रका अनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलव एक मिटर रहेको छ। नारायणीमा पानीको सतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रूपमा लिइन्छ।

नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरू जोखिममा पर्ने गरेका छन्। नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उनले अहिले नारायणीमा पानीको बहाब सामान्य रहेको जानकारी दिए। नवलपुरको गैँडाकोटसहित पाँचवटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन्।

त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ। हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुईवटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन्। आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला