प्रदेश १ को नाम ‘किरात’ राख्न माग गर्दै प्रदर्शन

सुबी गुरुङ
  • ख-
  • ख+

राजनीतिक दलहरूले प्रदेश नामकरणका लागि प्रयास तीव्र पार्दा यसअघि देखि नै आन्दोलनमा रहेका विभिन्न समूहहरूले दबाब पनि तीव्र पारेका छन्।

संसद्को जारी बर्खे अधिवेशनबाटै प्रदेश नामकरण टुंग्याउने कसरतमा जुटेका दलहरूलाई दबाब दिन यतिबेला किरात नामका पक्षधरहरूले सक्रियता बढाएका छन्।

सोमबार किरात राई यायोख्खाले किरात प्रदेशको माग राख्दै विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेको छ।

सुनसरीको धरानबाट सुरू भएको मोटसाइकल र्‍याली इटहरी, दुहबी हुँदै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर घेराउमा परिणत भएको थियो। प्रदर्शनकारीले मुख्यमन्त्री राजेन्द्र राईलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएपछि उनीहरू प्रदेशसभाको कार्यालय पनि पुगेका थिए।

घेराउ कार्यक्रम १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन्। उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका थिए।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा ९एमाले० र राप्रपा कोशी, सगरमाथा, सप्तकोशीलगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टी पहिचानको पक्षमा छन्।

मुख्यमन्त्री राईले किरात प्रदेश नामकरण गरिनुपर्ने कुराको समर्थन गर्दै आएका छन्। किरात राई यायोख्खाले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले आफूले सार्वजानिक रूपमा किरात प्रदेश हुनुपर्ने माग राख्दै आएको बताए।

‘मैले भन्दै आएको छु, पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ,’ मुख्यमन्त्री राईले भने, ‘मैले खुला रूपमा भन्दै आएको छु। प्रदेशको नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ। प्रदेशको नामकरणको लागि मतदान गर्दा मैले जुनसुकै मुल्य चुकाएर भए पनि किरात प्रदेशका पक्षमा गर्नेछु।’

राईले थपे, ‘किरात भएको नाताले मैले यसो भनेको होइन। प्रदेश १ पहिचान र सभ्यता जोडिएको प्रदेश हो। त्यसैले पनि प्रदेशको नामकरण किरात प्रदेश हुनुपर्ने दसी भएकोले किरातको पक्षमा बोल्दै आएको छु।’

यसैबीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले नामकरणबारे छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक बोलाएका छन्। असार २४ मा सर्वदलीय बैठक भएपछि दलहरू फेरि छलफलमा जुटेका छैनन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला