सुकुम्बासी बस्तीका दुःख, वर्षासँगै बाढीको त्रास

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा । बर्खाका बेला जब आकाशमा कालो बादल मडारिन थाल्छ, तब राजधानीको थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीमा पनि तनाव सुरु हुन थाल्छ । बागमती किनारमा वर्षौदेखि सुकुम्बासी जीवन बिताउँदै आएका उनीहरु वर्षासँगै बाढीको त्रासमा बाँच्न विवश बनेका हुन् ।

बागमतीमा आउने बाढी पटक पटक बस्तीमा पस्दै आएकाले फेरि कतै यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता उनीहरुमा छ । त्यसैले त पानी दर्किन थालेपछि उनीहरु रातभर निदाउन सक्दैनन् । ​ सुकुम्बासीहरु भन्छन्, ‘बाढी आएका निदाउनै सक्दैनौँ । डरैडरमा हाम्रो रातदिन बित्ने गरेको छ ।’

थापाथलीस्थित बागमती किनाराको टहरोमा १७ वर्षदेखि बस्दै आएकी जानुका पोखरेल बर्खाका बेला आफूहरुले निकै सास्ती भोग्नुपरेको बताउँछिन् । सुकुम्बासी भएर बस्नु कसैको चाहना नहुने भन्दै उनले बाध्यताले कष्टकर जीवन भोग्न विवश बनेको बताइन् । ‘गरिबको बोली कसले पो सुन्ने रहेछ र १ २०६२ सालदेखि यहाँ बस्दै आएका छौँ, यहाँको पीडा र अभाव भनिसाध्य छैन’, उनले सुनाइन्, ‘बर्खायाममा बाढीले निकै समस्या पार्ने गरेको छ । दुईतिरबाट बाढी आउँछ । भगवान भरोसामा बाँच्दै आएका छौँ ।’

उनका अनुसार थापाथलीमा १३६ घर परिवार सुकुम्बासी बस्दै आएका छन् । यस्तै बागमती किनारमा सुकुम्बासीको रुपमा बस्दै आएका लक्ष्मी यादवले पनि बेलाबेला उर्लिएर आउने बाढी बस्तीमा पस्दा खाद्यान्नदेखि लत्ताकपडासम्म भिजेर बिजोग हुने गरेको दुखेसो पोखे । धन्न अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । उनका अनुसार यो वर्ष बस्तीमा बाढी पसेको छैन । तर, अघिल्लो वर्ष धेरै पटक बस्तीमा बाढी पसेको उनको भनाइ छ ।

यसपाली पनि औसतभन्दा बढी वर्षा हुने सुनेका उनीलाई भारी वर्षा भएर बाढी पसिहाल्ने हो कि भन्ने पिरलोले सताएको छ । त्यही त्रासका कारण भारी वर्षा भयो भने बाढी आउने त्रासमा रातभर निदाउन नसक्ने अवस्था रहेको यादव बताउँछन् । वर्षाका बेला विशेषगरी बालबच्चा र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।

उनीहरुलाई जोगाउन अर्को चुनौति हुने भन्दै सरकारले भने यस्तो पीडा बेहोर्नु पर्दा पनि आफूहरुलाई नहेरेको यादवले गुनासो गरे । राज्य छ भन्ने आभास आफूहरुले पाउन नसकेको उल्लेख गर्दै उनले आधारभूत सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको बताए । सुकुम्बासी बस्तीमा बस्दै आएका अधिकांशले ज्याला मजदुरी गरेर आफ्नै दैनिकी गुजार्दै आएका छन् ।

वर्षाको मात्रै होइन, सुकुम्बासी बस्तीका बासिन्दामा स्वास्थ्य, शिक्षा, रोजगारीको समस्या त छ नै, बेलाबेला राज्यले गर्ने धरपकडले पनि अत्याइरहन्छ । पटक पटक राज्यले बस्तीबाट आफूहरुलाई हटाउन प्रयास गर्दै आएको भन्दै जानुकाले आक्रोश पोखिन् ।

२०६९ सालमा सरकारले सुकुम्बासी बस्ती हटाउने भनेर सबै घरहरु भत्काएको उनले स्मरण गरिन् । तर, त्यतिबेला राज्यको कदमविरुद्ध आन्दोलन गर्दा हटाउन भने नसकेको उनको भनाइ छ । सुकुम्बासीहरु राज्यले आवासको राम्रो व्यवस्था गरिदिए बागमती किनारमा बस्नु आफूहरुको रहर नभएको बताउँछन् । देशका विभिन्न स्थानबाट उनीहरु बागमती किनारमा २०६२ सालदेखि बस्दै आएका हुन् ।

अविरल वर्षापछि बागमतीमा आउने बाढीले थापाथलीसहित बागमती किनारामा रहेका अन्य बस्तीहरुमा बेलाबेलामा बढी पस्ने गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला