
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन्।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पु¥याएको दावीसमेत गरे।
मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरूमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले भने, ‘यो सरकार बनेपछि सिम्प्ली भन्ने हो भने संवाद छैन। कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरू यस्तो डेमेक्रेसीमा हुँदैन। यो संवादहिनताको स्थिति अरू धेरै कुराहरू म भन्न चाहन्नँ। प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै।त्यो त अनिवार्य नै कुरा हो। प्रतिपक्ष भनेको एउटा वैकल्पिक सरकार हो। सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ। त्योसँग त परामर्श गर्नुपर्छ नै। साथसाथै विज्ञहरूसँग परामर्श गर्ने हाम्रो चलन थियो।’
राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाइ थियो।
उनले लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतिको नयाँ डेफिनेसन गर्नुहुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने बताए।