पोखरा, फागुन ५ । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क दन्त शिविर गर्ने भएको छ । सहकारीले आगामी फागुन ७ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा निःशुल्क दन्त शिविर आयोजना गर्न लागेको हो ।
निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा हुन लागेको उक्त शिविर बिहान ८ बजेदेखि सुरु हुनेछ ।
गाउँघरमै विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा दाँत तथा मुख सम्बन्धी विभिन्न समस्याहरूको निःशुल्क परीक्षण र परामर्श प्रदान गरिने सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिनुभयो ।
सहकारीले केवल बचत र ऋणको कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।
अध्यक्ष शाहीका अनुसार सहकारीले हरेक वर्ष आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेर यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
‘मुखको स्वास्थ्य समग्र शरीरकै ऐना हो, तर चेतना र पहुँचको अभावमा धेरै मानिसहरूले दाँतको समस्या लुकाएर बसेका हुन्छन्,’ विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी हामीले यो शिविर आयोजना गरेका हौँ । यसले मुखमा हुने विभिन्न रोगहरू न्यूनीकरण गर्न र स्थानीयलाई स्वास्थ्यप्रति सचेत बनाउन मद्दत पुग्ने विश्वास लिएका छौँ।’ अध्यक्ष शाहीले भन्नुभयो ।
सहकारीले लाहाचोक र आसपासका क्षेत्रका सम्पूर्ण दाँत तथा मुख सम्बन्धी समस्या भएका महानुभावहरूलाई यस अवसरको लाभ उठाउन आग्रह गरेको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले दाँत परीक्षण गर्ने, सफा गर्ने विधि सिकाउने र आवश्यक औषधीहरू समेत परामर्शका आधारमा उपलब्ध गराउने बताइएको छ ।
सामाजिक उत्तरदायित्वको क्षेत्रमा दर्शन सहकारीले आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ । यसै प्रतिबद्धतालाई सार्थकता दिन सहकारीले विभिन्न समयमा शैक्षिक सामग्री वितरणदेखि लिएर स्वास्थ्य सम्बन्धी शिविरहरू सञ्चालन गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरी पोखरा र वरिपरिका समुदायमा आफ्नो सामाजिक पहिचान दृढ गर्दै समेत आएको छ ।














