सिटीवान टेलिभिजनको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा १८ चैत । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताउनुभएको छ । बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गर्नुभएको हो ।

विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उहँको छ । सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता उहाँको छ ।
मन्त्री पौडेलले गण्डकी प्रदेश सरकारका मन्त्रालय मध्यबाट सबैभन्दा बढी आफ्नो मन्त्रालयबाट भएको दावी गर्नुभयो ।
अर्को प्रसंगमा उहाँले आफ्नो मन्त्रालयले राजश्व सङ्कलनको मात्रा बढाएको र अझै बढाउने उल्लेख गर्नुभयो । आफू निजी क्षेत्रबाट आएको व्यक्ति भएको कारण समेत प्रगति हासिल गर्न सहज भएको उहाँको भनाइ छ ।

लमजुङ उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी समेत रहेका उहाँले व्यवस्थापन पक्षलाई ध्यान दिँदा राजस्व सङ्कलनमा वृद्धि भएको दावी गर्नुभयो । मन्त्रालयबाट गर्नुपर्ने राहत र अनुदान वितरण सकिएको भन्दै उहाँले वन क्षेत्रको लागि २० वर्षको रणनीति तयार बनाएर अगाडि बढेको जनाउनुभयो । वातावरण तर्फको कामलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरि अर्थमा पठाइएको उहाँले सुनाउनुभयो । कतिपय काम प्रदेश सरकारले मात्र गर्न सम्भव नभइ सङ्घमा भन्नुपर्ने भएकोले समस्या भएको उहाँले बताउनुभयो ।

व्यवसायी र सञ्चारकर्मी एक अर्काका परिपुरक भएको भन्दै उहाँले जनतालाई सुसूचित गराउने काम सञ्चार क्षेत्रको भएकोले अनुसन्धान गरेर राम्रो नराम्रो पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । यसमा सिटीवान टेलिभिजनले गरेको कार्य सराहनीय रहेको बताउनुभयो । जसले जे जिम्मेवारी पाएको छ त्यसलाई इमानदारी पूर्वक गर्न सके हरेक क्षेत्रमा सफल हुने उहाँको भनाइ छ । लगानी गर्नको लागि गण्डकी उपयुक्त ठाउँ भएकोले सबै एक भएर यस प्रदेशको विकासका लागि लाग्नुपर्नेमा उहाँको जोड थियो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले सिटी वान टेलिभिजनले स्थापनाको छोटो समयमा गरेको काम लोकप्रियता गौरव गर्न लायक रहेको उल्लेख गर्नुभयो । टेलिभिजन सञ्चालन गर्नको लागि सहज अवस्था नभएपनि सबै क्षेत्रलाई समेटेर काम गरेकोले आवाज बिहीनको आवाज र दृष्टिबिहिनको दृष्टि बन्न सफल भएको भन्दै उहाँले प्रसंशा गर्नुभयो । लमजुङको ऐतिहासिक तथा पर्यटकिय ठाउँ क्व्होलासोथारमा नागरिकलाई सहज र छिटो सेवा दिनका लागि आफूले काम गरिरहेको उहाँले सुनाउनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रम पर्यटन मैत्री बनाउने गरिएको भन्दै उहाँले विभिन्न कानुनी जटिलताका कारण सहज ढंगले अगाडि बढ्न भने समस्या हुने गरेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले नयाँ सरकारले केही आशाको सञ्चार गराएको उल्लेख गर्नुभयो । राम्रोको लागि सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने भन्दै उनले नयाँ सरकारले केही कुरामा आमूल परिवर्तन गर्न लागेकेले यसमा पुराना दलले पनि साथ दिनुपर्नेमा उहाँको जोड थियो । गण्डकी प्रदेशको विकासको लागि सबैसँग हातेमालो गर्नको लागि उद्योगी व्यवसायी एक हुनुपर्ने उहाँले औँलयाउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघकाका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले टेलिभिजनले समयमै क्यालेन्डर विमोचन गरेर सुखद संकेत गरेको भन्दै अन्य कार्य पनि समयमा पूरा हुन सकुन् भन्ने शुभकामना दिनुभयो । अहिले बनेको दुई तीहाइको सरकारले ल्याएका एक सय बुदै कार्यसुची सकारातमक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो ।
पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पश्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताउनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५र२०२६ कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङमा टेलिभिजनले खेलेको भूमिकाको तारिफ गर्नुभयो । नया सरकारले केही गर्ने आशा देखाएकोले आउने दिन सुखमय बन्ने विश्वास उहाँको थियो । सबैले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै २०८३ सालमा टेलिभिजनसँग सहकार्य गर्ने प्रतिवद्दता समेत जनाउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको रेटमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताउनुभयो । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ ।
टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले क्यालेन्डर प्रकाशनमा सघाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । टेलिभिजनले गण्डकी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर यहाँका आवाजविहीनहरूको आवाजलाई बुलन्द पार्ने कोसिस गरिरहेको उहाँको भनाइ छ ।
टेलिभिजनका बोर्ड अफ डाइरेक्टर सुदिप प्रधानाङ्गले विभिन्न वाधा व्यवधानका बाबजुत सबैको साथका कारण टेलिभिजन अगाडि बढिरहेको बताउनुभयो । उहाँले टेलिभिजनको लागि कार्यक्रमहरु मुटु र विज्ञापन अक्सिजन भएको भन्दै साथ दिने सबै बिज्ञापनदाता र शुभचिन्तक प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गर्नुभएको थियो । टेलिभिजनको पहुँच गण्डकी प्रदेशका सबै कार्यलयहरु र विज्ञापन दाताहरु समक्ष पु¥याउन क्यालेन्डर विमोचन गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताउन्ुभयो ।
कार्यक्रममा पोखराका उद्योगि, व्यवसायी, शैक्षिक व्यक्तित्व, सञ्चारकर्मी टेलिभिजन सेयर सदस्य, शुभचिन्तक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्टार नेपाल मिडिया हब प्रा.लि.द्वारा सञ्चालित सिटीवान टेलिभिजनले वि.सं. २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु भएको थियो । टेलिभिजनले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला