आमा समूहको योगदान समाज रूपान्तरणमा महत्वपूर्ण : मन्त्री थापा

नगेन न्यूज
  • ख-
  • ख+

स्याङजा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा मन्त्री थापाले आमा समूहहरू समुदायस्तरमा सामाजिक जागरण, एकता, सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गर्नुभयो । उहाँले विशेषगरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तीकरण, सामाजिक विकृति न्यूनीकरण, आयआर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो ।

मन्त्री थापाले समुदायस्तरमा महिलाको सक्रिय सहभागिता सुनिश्चित नगरी दिगो विकास सम्भव नहुने स्पष्ट पार्दै सरकारले जनचाहना अनुसार महिला लक्षित कार्यक्रम, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरूलाई आत्मनिर्भर, सक्षम र नेतृत्वदायी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसले सामाजिक न्याय र समानतामूलक समाज निर्माणमा टेवा पुर्‍याउनेछ ।”

उहाँले पछाडि परेका वर्ग, ग्रामीण भेगका नागरिक तथा लक्षित समुदायको जीवनस्तर उकास्न प्राविधिक शिक्षा, सीपमूलक तालिम र आयआर्जनसँग जोडिएका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको पनि बताउनुभयो । साथै, आमा समूहहरूलाई केवल सामाजिक कार्यमा सीमित नराखी विकासका साझेदार संस्थाका रूपमा अघि बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयमा विकासका कार्यक्रम सञ्चालन गरेको बताउँदै नागरिकको आवश्यकता अनुसार तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले आमा समूहहरूले समुदायमा महिला सशक्तीकरण र सामाजिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका आवश्यकता परिवर्तन भइरहेकाले आमा समूहका पदाधिकारी तथा सदस्यहरूमा प्रभावकारी नेतृत्व, योजना निर्माण, निर्णय क्षमता, समन्वय र व्यवस्थापनसम्बन्धी सीप आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा यस्ता कार्यक्रमलाई जिल्लाभर विस्तार गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अधिवक्ता कुञ्जना परियार प्यासीले महिला सशक्तीकरण, नेतृत्व विकास, कानूनी ज्ञान र सकारात्मक सोच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रदेश अस्पताल स्याङ्जा अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता न्यौपानेले महिला हिंसाको अवस्था, उद्धार र पुनस्र्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गर्नुभयो ।
कार्यक्रमअन्तर्गत सहभागी महिलाहरूलाई जीवन विज्ञान केन्द्र स्याङ्जाद्वारा योग, ध्यान र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ ।
कार्यक्रममा जागृति आमा समूहकी अध्यक्ष तारा पौडेल र जुग्ले आमा समूहकी अध्यक्ष मिलन कार्कीले यस्ता कार्यक्रमले महिलाहरूको बहुआयामिक क्षमता विकासमा टेवा पुगेको बताउनुभयो ।
महिलाहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा महिला अधिकार र सशक्तीकरणसम्बन्धी गीत, कविता तथा नृत्य प्रस्तुत गर्ने सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन स्मृति काफ्लेले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला