काठमाडौं, फागुन ३ । निर्वाचन आयोगले आइतबार (आज) देखि मतदाता शिक्षा विशेष कार्यक्रम शुरू गरेको छ। आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार यस कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।
विषेशगरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउन आयोगले उक्त कार्यक्रम शुरू गरेको हो ।
आजदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। देशका ७ सय ५३ वटै स्थानीय तहअन्तर्गतका ६ हजार ७ सय ४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।
यस कार्यक्रमअन्तर्गत खटिएका मतदाता शिक्षा स्वयंसेवकले सीधै मतदाताको घरदैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी दिनेछन् ।
नमूना मतपत्रको प्रयोगमार्फत मत कसरी हाल्ने, मताधिकारको महत्व के हो र सही तरिकाले मतदान कसरी गर्ने भन्ने विषयमा व्यवहारिक रूपमा प्रशिक्षण दिइनेछ ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई केवल जानकारी दिने कार्यक्रम मात्र नभई लोकतन्त्र सुदृढ गर्ने आधारका रूपमा लिएको छ ।
आयोगको अनुसार यस मतदाता शिक्षाले प्रभावकारी मतदानमा जनसहभागिता बढाउने मात्र नभई बदर मतको दर समेत उल्लेखनीय रूपमा घटाउन मद्दत गर्ने विश्वास लिइएको छ ।
त्यस्तै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सरोकारवाला निकायसँग सक्रिय सहयोग र समन्वयको आग्रह गर्नुभएको छ ।
उहाँले मतदाता शिक्षा लोकतान्त्रिक प्रक्रियाको मेरुदण्ड भएकाले यसको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।














