पोखरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने लक्ष्यसहित कास्कीमा निर्वाचन सुरक्षाको उच्चस्तरीय अभ्यास सम्पन्न गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र जिल्ला सुरक्षा समिति कास्कीको सहकार्यमा शुक्रबार पोखरा–७ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको खेल मैदानमा संयुक्त ‘सिमुलेशन’ अभ्यास गरिएको हो ।
कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थितिमा उक्त सिमुलेशन कार्यक्रम भएको थियो ।
विषेशगरी निर्वाचन सुरक्षार्थ खटिने निर्वाचन प्रहरीहरूलाई मतदान स्थलको सुरक्षा घेरा निर्माण, भीड नियन्त्रण, संवेदनशील अवस्थाको व्यवस्थापन तथा आकस्मिक सुरक्षा चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।
अभ्यासका क्रममा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल बीचको समन्वय र कसरी संयुक्त सुरक्षा कारबाही गरिन्छ भन्ने बारे प्रत्यक्ष जानकारी गराइएको थियो ।
यस्तै आकस्मिक अवस्थामा गरिने सुरक्षा कारबाहीको प्रत्यक्ष प्रदर्शन गरिएको थियो । यस सिमुलेसन कार्यक्रमले निर्वाचनको समयमा सम्भावित जोखिमलाई नियन्त्रण गर्न सुरक्षा निकायहरू पूर्ण तयारीमा रहेको सन्देश दिएको छ ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी शर्मा र प्रहरी उपरीक्षक नवीन कार्कीले तालिम सम्पन्न गरेका निर्वाचन प्रहरीहरूलाई विशेष सुरक्षा निर्देशन दिँदै निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित बनाउन उच्च सतर्कता, अनुशासन र जिम्मेवारीका साथ परिचालन हुन निर्देशन दिनुभएको थियो ।
अधिकारिहरूका अनुसार यस्तो व्यवहारिक अभ्यासले सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धि गर्नुका साथै मतदानस्थलमा हुन सक्ने कुनै पनि असामान्य परिस्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीलाई आत्मविश्वास र तयारी प्रदान गर्ने विश्वास लिइएको छ ।
यस अभ्याससँगै कास्कीमा निर्वाचन सुरक्षाको तयारी तीव्र पारिएको छ भने आगामी निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा निकायहरू पूर्ण रूपमा सजग र प्रतिबद्ध रहेको सन्देश दिइएको छ ।














