हुम्ला, मंसिर ६ । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहनुभएको प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुग्नुभएको छ ।
उहाँले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको छायाँमा अवस्थिति दार्मा गाउँ र कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई आफ्नो ‘त्रिकोण क्यानभास’मा उतार्नुभएको छ ।
चंखेलीलाई क्यानभासमा उतार्दै उहाँले भन्नुभयो, ‘चंखेली अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पुर्याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।’
चंखेली केन्द्रमा आयोजित लाईभ–चित्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, वडा अध्यक्ष वृष बहादुर सिंह, चंखेली शिक्षक संघका अध्यक्ष जगत बहादुर शाही सहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।
स्थानियहरूले चंखेलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराउनुभएको थियो ।
ठकुरीले आफ्नो क्यानभासमा उतारेको चंखेली विश्वमञ्चमा चिनिनेमा त्यहाँका स्थानीयहरू विश्वस्त रहेका छन् ।
चंखेली गाउँपालिका अध्यक्ष शाहीले “दार्मा गाउँ र निग्ल हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै चंखेलीकै ठूलो उपलब्धि हो” भन्दै प्रकृतिसँग रमाउन चाहने पर्यटन थप आकर्षित हुनेमा आशावादी रहेको बताउनुभयो ।
ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसक्नुभएको छ ।
उहाँको लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ ।
उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उहाँले बताउनुभयो । यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्राउने लक्ष्य कलाकार ठकुरीको छ ।
वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उहाँले लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् ।
यसै सक्रियताका कारण नै उहाँले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसक्नुभएको छ ।
स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उहाँ २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसक्नुभएको छ ।
उहाँले प्राप्त गरेका सम्मान नै उहाँको कलायात्राको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो ।
उहाँको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५ सय ६१ जना प्रकाशकका नाम समावेश छन् ।
करिब ५ लाख नेपालीको सहभागितामा गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ ।
यसै १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ । साथै अहिलेसम्म १०० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको छ ।
५ लाख नेपालीहरु द्वारा प्रकाशित कृति नेपाल कला यात्रा बनाउन ‘७७ जिल्ला स्थलगत कला भ्रमण’को क्रममा अहिले हुम्ला पुग्नुभएको हो ।














