सुर्खेत । नेपालको ७७ जिल्लाका मनोरम दृश्य, संस्कृति र पर्यटन सम्भावनालाई एकै क्यान्भासमा उतार्दै तयार पारिएको ‘नेपाल कला यात्रा’ पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लोकार्पण गर्नुभएको छ ।
उहाँले सुर्खेतमा सोमबार आयोजित एक समारोहकाबीच उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल’ बनाउने महाअभियानको मुख्य आधार मानिएको यस पुस्तकमा प्रत्येक जिल्लाका कम्तीमा तीन वटा हेर्न र घुम्न उपयुक्त गन्तव्यहरूलाई यस अभियानका अभियन्ता तथा प्राज्ञ नगेन सिंह ठकुरीले निकै सुन्दर रूपमा क्यान्भासमा उतार्नुभएको छ ।
प्राज्ञ ठकुरीद्वारा प्रकाशित यस पुस्तकले दृश्यकला र पर्यटन प्रवद्र्धनलाई एउटै यात्रामा जोड्ने प्रयास गर्नुभएको छ ।
उहाँ यस पुस्तकलाई विश्वका १ सय ९७ भाषामा अनुवाद गरी प्रत्येक देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा कम्तिमा ३ सय वटा पुस्तकहरू वितरण गरी २०८७ सालमा नेपालमा १ करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढिरहनुभएको छ ।
त्यस्तै उहाँका अनुसार यस अभियानमार्फत यहाँको कला, संस्कृति र भौगोलिक विविधताबारे नेपाललाई विश्वसामु चिनाउनु पनि आफ्नो उद्देश्य रहेको छ ।
विषेशगरी नेपाल कला यात्राको बीउ २०६७ कार्तिक ६ गते लुम्बिनीमा विजारोपण गरिएको थियो ।
त्यसपछि २०७१ जेठ ३० गर्ते यापर यमबुद्धसँगै ताप्लेजुङ पुगेका ठकुरीले पाथिभारा मन्दिरलाई क्यान्भासमा उताउँदै औपचारिक रूपमा सुरुवात भएको घोषणा गरिएको थियो ।
यसै क्रममा ७७ जिल्लाको चित्रहरूको सँगालो ‘नेपाल कला यात्रा’ ७७ जिल्लामा वितरण गर्ने उद्देश्यले टोली सुर्खेत पुगेको नेपाल कमर्सियल आर्टिस्ट संघका केन्द्रीय उपाध्यक्ष सुभाष शाक्यले जानकारी दिनुभयो ।
यस्तै यस पुस्तकको एउटा पृष्ठमा सुर्खेतको पहिचान पनि झल्किएको छ । २०७४ सालमा प्राज्ञ ठकुरीले क्यान्भासमा उतारेको बुलबुले तालको कलाकृति पुस्तकको २६औँ पृष्ठमा समावेश गरिएको छ । जसले कर्णालीको प्राकृतिक सौन्दर्यलाई क्यानभासमा आकर्षक रूपमा उतारिएको छ ।














