नेपाली चलचित्र उद्योगले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गर्दै अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भइरहेको छ । तर यससँगै केही आधारभूत समस्या अझै समाधान हुन सकेका छैनन् । ती आधारभूत समस्या विशेषगरी महिला कलाकारहरूको सहजता र सम्मानसँग सम्बन्धित मुद्धा हुन् ।
हालै अभिनेत्री नीति शाहले सुटिङका क्रममा महिला कलाकारहरूले भोग्दै आएका वास्तविक समस्या सार्वजनिक रूपमा राख्नुभएको थियो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसँगको भेटवार्तामा सुटिङ स्थलहरूमा शौचालयको अभाव र भ्यानिटी भ्यानको आवश्यकता बारे खुलेर कुरा गर्नुभएको थियो । उहाँले सञ्चार मन्त्रीसँगको कुराकानीमा,“फिल्म सुटिङ कुनै निश्चित स्थानमा मात्रै हुँदैन । कहिले शहरमा, कहिले गाउँमा, कहिले भिडभाडमा त कहिले जंगलमा हुन्छ । यस्तो अवस्थामा महिला कलाकारका लागि कपडा फेर्ने, रजस्वलाको समयमा सरसफाइ गर्ने वा शौचका लागि सुरक्षित ठाउँ खोज्नु निकै कठिन हुन्छ ।” भन्नुभएको थियो ।
नीतिका अनुसार, महिला कलाकारका लागि विशेष सुविधा भएको भ्यानिटी भ्यान अनिवार्य हुनुपर्छ । यो विलासिता होइन कार्यस्थलमा सम्मान, गोपनीयता र समानताको सुनिश्चितता हो । चलचित्र क्षेत्र निरन्तर व्यावसायिकता तर्फ उन्मुख हुँदै गर्दा महिला कलाकारहरूको सहजता र स्वास्थ्यका यस्ता विषयहरूलाई बेवास्ता गर्नु उद्योगकै कमजोरी हो । आज नेपाली फिल्महरू विदेशी बजारमा पुगेका छन्, अन्तर्राष्ट्रिय कलाकार र प्राविधिकहरू नेपालमा सुटिङका लागि आउँछन् । तर त्यस्तो बेला आधारभूत सुविधा नहुँदा देशकै छवि प्रभावित हुने सम्भावना रहन्छ ।
नीति शाहको आवाजले चलचित्र क्षेत्रभित्र संवेदनशील र समावेशी कार्य वातावरणको आवश्यकतालाई उजागर गरेको छ । उहाँले उठाउनुभएको मुद्दा केवल एक अभिनेत्रीको व्यक्तिगत तीतो अनुभव होइन, सम्पूर्ण महिला कलाकारहरूको साझा पीडा हो । सिनेमा मनोरञ्जन मात्र होइन, समाजको प्रतिबिम्ब पनि हो । त्यसैले जबसम्म महिला कलाकारहरू सुरक्षित र सहज महसुस गर्न सक्दैनन्, तबसम्म चलचित्र उद्योगले पूर्ण व्यावसायिकता र सम्मानको स्तर हासिल गर्न सक्दैन ।
नीति शाहले उठाउनुभएको यो विषय चलचित्र क्षेत्रलाई अझ सभ्य, संवेदनशील र समानतामूलक दिशामा अघि बढाउने सशक्त पहल बनेको छ । उहाँको आवाजले स्पष्ट सन्देश दिन्छ कि महिला कलाकारहरूको सहजता सुनिश्चित गर्नु सुविधा होइन, सम्मानको सवाल हो ।















