
पोखरा, चैत्र १३ । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले चैते दशैंको अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सोही बिदा प्रदेश राजपत्रमा पनि उल्लेख गरिएको छ ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।