लेखनाथ, नेपाल पिक्चर लाइब्रेरीले आफ्नो बहुचर्चित फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ को देशव्यापी यात्रा तेस्रो चरणमा प्रवेश गर्न लागेको जनाएको छ।
पहिलो चरणमा वीरगञ्ज र जनकपुर तथा दोस्रो चरणमा सुर्खेत र नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भइसकेको यो प्रदर्शनी तेस्रो चरणअन्तर्गत अब बुटवल र पोखरामा आयोजना हुन लागेको हो।
नेपालमा ग्रामीण तथा शहरी क्षेत्रका नागरिकसमक्ष महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउने उद्देश्यका साथ यो देशव्यापी यात्रा सञ्चालन भइरहेको छ। यस पहलले ऐक्यबद्धता निर्माण गर्नका साथै महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ छ।
पोखरामा आयोजना हुने तेस्रो चरणको प्रदर्शनीका लागि नेपाल पिक्चर लाइब्रेरीले पोखरा नगर युवा परिषदसँग साझेदारी गरेको छ। साझेदार संस्थाहरूको सहयोगले प्रदर्शनीको पहुँच बढाउन र स्थानीय स्तरमा अर्थपूर्ण सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय ख्याति र परियोजनाको पृष्ठभूमि वि.सं. २०७५ (सन् २०१८) मा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको यो परियोजना वि.सं. २०८० मा पुस्तकको रूपमा समेत प्रकाशित भएको थियो। दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्व स्थापित गर्नु यस परियोजनाको मुख्य उद्देश्य रहेको छ।
यसअघि यो प्रदर्शनीले काठमाडौँ (नेपाल), नयाँ दिल्ली र कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, ब्रेडा (नेदरल्याण्ड), र न्यू योर्क (अमेरिका) लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शहरहरूमा ख्याति कमाइसकेको छ।
फोटोबुकको नयाँ नेपाली संस्करण आउँदै प्रदर्शनीसँगै यस परियोजनासँग सम्बन्धित फोटोबुकको नयाँ नेपाली संस्करण पनि प्रकाशन हुन लागेको छ। वि.सं. २०८० मा पहिलो पटक प्रकाशित पुस्तकले पाठकहरूबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो। यसै निरन्तरता स्वरूप आउन लागेको नयाँ संस्करण पूर्ण रूपमा नेपाली भाषामा मात्र रहनेछ।















